१३ बैशाख २०८१, बिहिबार

धनवन्तरी जयन्ती र यसको महत्व


धनवन्तरी

धन्वन्तरि दिवस (Dhanvantari Dibas) कार्तिक माहिनाको कृष्ण पक्षको त्रयोदशीमा यो दिवस मनाइन्छ । यस दिनलाई भगवान धन्वन्तरि, आयुर्वेदका पिता र गुरु मानिन्छ, उनको जन्म दिवस आयुर्वेदमा धुमधामका साथ आज मनाइदैछ ।

भगवान धन्वन्तरि देवी देवताहरूका पनि चिकित्सक हुन् । भगवान विष्णुको अवतार मध्ये धन्वन्तरी भगवान पनि एक मानिएको छ । यो दिनलाई ‘धन्वन्तरि दिवस ‘धनतेरस’ या ‘धन्वन्तरि त्रयोदशी’ को नामले पनि जान्ने गरिन्छ ।

आयुर्वेदिक चिकित्सा पद्धति संसारकै सबैभन्दा पुरानो चिकित्सा पद्धति हो तर अहिले सम्म यसको प्रभाव थोरै पनि कम भएको छैन । यिनै भगवान धनवन्तरिको मानवतालाई अनुपम देन हो, आयुर्वेद।

आजकै दिन अर्थात् कार्तिक कृष्ण पक्षको त्रयोदशीको दिन समुन्द्र मन्थन गर्दा भगवान धनवन्तरि अमृत, शंख, चक्र र जडीबुटीका साथ प्रकट हुनुभएको धार्मिक कथन छ। आयुर्वेद “आयु र वेद”गरी दुई शब्द मिलेर बनेको हो । आयुर्वेद भन्नाले ‘आयुको ज्ञान’ भनेर बुझिन्छ । आयुर्वेद चिकित्सासँग सम्बन्धित सबैले आजको दिनलाई विशेष महत्वका साथ मनाउने गर्दछन् ।

आज धन त्रयोदशी अर्थात् धनतेरश । विशेषगरी दिपावलीको किनमेलको लागि आजको दिन निक्कै उत्तम मानिन्छ। आजको दिन खरिद गरेका सामग्रीहरू राखेर लक्ष्मी पूजा गरेमा लक्ष्मी माता खुसी भई हामीलाई धनधान्यले सम्पन्न गराउने जनविश्वास छ ।

धन्तेरसको दिन कमलको पुष्पासनमा बसेकी माता लक्ष्मीजी र गणेशजीको मूर्ति, तस्बिर घर भित्र्याउनु निकै फलदायी हुनेछ । गच्छ अनुसार तपाईंले माटोको मूर्ति वा तस्बिर पनि लिन सक्नुहुनेछ । मूर्ति लिँदा ध्यान दिनुपर्ने कुरा के छ भने माता लक्ष्मीजी कमलको पुष्पासनमा बसेकै हुनुपर्दछ, उभिएको हुनुहुँदैन । यसो गर्नाले अन्नले भरिपूर्ण तथा स्थायी लक्ष्मीको बास हुन्छ ।

तपाईं धन्तेरसको अवसरमा भाँडाकुँडा खरिद गर्दै हुनुहुन्छ भने जुनसुकै स्टिल, तामा, पित्तल आदिको भाँडा किनेपनि एउटा कुनै न कुनै वस्तु चाँदीको खरिद गर्नु शुभ मानिन्छ । सम्भव भएसम्म सुन किन्नु अत्यन्त लाभदायी हुनेछ ।

धनतेरसको दिन किनेको सामान घरको पूर्वउत्तर दिशा (ईशान कोणमा) लगेर राख्नुपर्दछ । यसरी खरिद गरेको सामान अरूलाई उपहारको रूपमा दिनु राम्रो मानिदैन । अतः आफ्नु लागि मात्र राख्नुपर्दछ । यसो गर्नाले कुबेरजी पनि प्रसन्न भई तपाइको घरमा विराजमान हुनुहुनेछ । ध्यान दिनुस् धन त्रयोदशीमा कालो रङ्गको कुनै पनि वस्तु खरिद गर्नुहुँदैन ।

धन्तेरसको दिन कौडी, कमलगट्टा तथा सिङ्गो धनियाँ किनेर घर भित्र्याउनु अत्यन्तै शुभ मानिन्छ र यसरी खरिद गरेको कौडी कमलगट्टा र सिङ्गो धनियाँ लक्ष्मी पूजामा सामेल गरी घरमा राख्नाले घरमा धनको कमी कहिलै नहुने र मानसिक शान्ति मिल्नेछ । आजको दिनबाट लक्ष्मी उत्सव शुरु हुने भएको हुनाले आजपनि लक्ष्मी माताको विशेष पूजा अर्चना गर्नु महत्वपूर्ण मानिन्छ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !