१५ बैशाख २०८१, शनिबार

स्वास्थ्य संस्थामा सुत्केरी गराउनेको संख्या बढ्दो


भाद्र २३ काठमाडौँ । घरमै सुत्केरी हुने पुरानो परम्परालाई छोड्दै बैतडीको ग्रामीण भेगका महिला पनि सुत्केरी हुन स्वास्थ्य संस्थामा जान थालेका छन् । जिल्ला स्वास्थ्य कार्यालयले बैतडीलाई पूर्ण संस्थागत सुत्केरी जिल्ला घोषणा गर्ने लक्ष्य लिएपछि स्वास्थ्य संस्थामा आएर सुत्केरी हुनेको संख्या बढ्दै गएको हो । विगत ३ बर्षको तथ्याङ्कलाई हेर्दा स्वास्थ्य संस्थामा गएर सुत्केरी हुने महिलाको संख्या बढ्दै गएको छ ।

जिल्ला स्वास्थ्य कार्यालय बैतडीका पब्लिक हेल्थ नर्स ममता जोशीका अनुसार आर्थिक बर्ष २०७१/७२ बैतडीमा कुल गर्भवतीमध्ये ५७ प्रतिशत महिला स्वास्थ्य संस्थामा सुत्केरी भएका छन् भने आर्थिक बर्ष २०७२÷७३ मा यो संख्या बढेर ६६ प्रतिशत पुगेको छ । यस्तै आर्थिक बर्ष २०७३/७४ मा भने केही घटेर ६४ प्रतिशतमा झरेको छ । आर्थिक बर्ष २०७३/७४ मा स्वास्थ्य संस्थामा गएर सुत्केरी हुने महिलाको संख्या घट्नुको मुख्य कारण दोहोरो बसाई रहेको पब्लिक हेल्थ नर्स जोशीले बताइन् ।

‘बैतडीका अधिकांश मानिसको बसाई तराई अर्थात कैलाली, कञ्चनपुरमा छ,’ उनले भनिन्, ‘दोहोरो बसाई तथा सुविधासम्पन्न अस्पतालमा सुत्केरी गराउन बाहिर लैजाने गरेका छन् ।’ आर्थिक बर्ष २०७१/७२ बैतडीमा ५ हजार १०२ जना गर्भवती चेकजाँचका लागि स्वास्थ्य संस्थामा आएकोमा ३ हजार ६१८ जना स्वास्थ्य संस्थामा सुत्केरी भएका छन् । आर्थिक बर्ष २०७२/७३ मा गर्भवतीको संख्या ५ हजार ५० रहेकोमा ३ हजार ९६८ स्वास्थ्य संस्थामा सुत्केरी भएका जिल्ला स्वास्थ्य कार्यालय बैतडीले जनाएको छ ।

आर्थिक बर्ष २०७३/७४ मा ५ हजार ४८४ गर्भवतीले स्वास्थ्य संस्थामा आएर स्वास्थ्य परीक्षण गराएकोमा ३ हजार ९०० मात्रै बैतडीका स्वास्थ्य संस्थामा सुत्केरी भएको तथ्याङ्क छ । स्वास्थ्य चेतना बढ्दै गएकाले ग्रामीण भेगका महिला सुत्केरी हुन जिल्ला अस्पताल, प्राथमिक स्वास्थ्य केन्द्र र स्वास्थ्य चौकीलगायतका स्वास्थ्य संस्थामा जाने गरेको जिल्ला स्वास्थ्य कार्यालय बैतडीका प्रमुख डाक्टर गुणराज अवस्थीले बताए । उनले भने, ‘घरमा सुत्केरी हुँदा हुने जोखिम र स्वास्थ्य संस्थामा हुने फाइदा जानेपछि महिला स्वास्थ्य संस्था जाने गरेका हुन् ।’

यसका साथै बैतडीका १२६ ठाउँमा सुरक्षित प्रसुति केन्द्र सञ्चालनमा रहेका छन् । जिल्लाभरी १६० सुरक्षित प्रसुति केन्द्र सञ्चालन गरी हरेक गर्भवती महिलाले स्वास्थ्य संस्था अर्थात सुरक्षित प्रसुति केन्द्रमा सुत्केरी भएपछि बैतडीलाई पूर्ण संस्थागत सुत्केरी घोषणा गरिने भएको छ ।

 


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !