१९ बैशाख २०८१, बुधबार

सुमन श्रेष्ठ बने ताप्लेजुङ आइडल सिजन-३ को विजेता


सुमन श्रेष्ठ

ताप्लेजुङ । सुमन श्रेष्ठ ताप्लेजुङ आइडल सिजन-३ को विजेता बनेका छन् । विजेता श्रेष्ठले नगद १ लाख र दुई वटा नयाँ गीतमा स्वरांकनको उपहार प्राप्त गरे । यसैगरी दोस्रो हुने पेमा लमु शेर्पाले नगद ५० हजार र एउटा गीत पुरस्कार पाइन् भने तेस्रो हुने तेजन सुनुवारले ५० हजार नगद पुरस्कार प्राप्त गरेका छन् ।

श्री पन्चमी शान्ति युवा क्लव, पाथीभरा याङवरक-१ नाङखोल्याङ ताप्लेजुङले स्थानीय कलाकार उत्पादन गरी ताप्लेजुङलाई मुलुक र विश्व जगतसँग चिनाउने उद्धेश्यले २०६६ सालमा ताप्लेजुङ आइडलको सफल आयोजना गरेको थियो ।

बुबा दिल बहादुर श्रेष्ठ, आमा गंगामाया श्रेष्ठका तीन छोरामध्ये कान्छा छोरा सुमन श्रेष्ठ सानै उमेरदेखि गायनमा अत्यन्तै रुचि राख्थे । गाउँका सानादेखि ठुला-ठुला सांगीतिक कार्यक्रमहरुमा समेत सक्रिय रुपले आफ्नो उपस्थिति जनइरहने सुमनको, हुने बिरुवाको चिल्लो पात भनेझैं सानै उमेरदेखि गायनमा आफूलाई अव्वल साबित गरिरहेका छन् ।

सुमन श्रेष्ठ

२०७४ सालमा खुला अनलाइन गायन प्रतियोगितामा समेत प्रथम भई राईइज किङ राजेशपायल राईको बाहुलीबाट पुरस्कार प्राप्त गरेपछि उत्साहित सुमनले गत वर्षदेखि विधिबत संगीत सिक्न थालेको समेत बताउछन् ।

जसमा लक्ष्मण लिम्बुले प्रथम ताप्लेजुङ आइडलको गौरव बनाउन सफल भएका थिए । ‘सख्खर चिनी’, ‘पछि पछि लागेर’ आदि चर्चित गीतहरुका गायक तथा गएको सिजनमा द भ्वाइसको अन्तिम लडाई लडेका लोकप्रिय गायक पदम राई २०६९ सालमा आयोजित यहि ताप्लेजुङ आइडल सिजन-२ का विजेता समेत रहेको बताउछन् क्लवका अध्यक्ष भुवन आङबुहाङ ।

सुरुवाती चरणमा ५२ जना गायक गायिकाको अडिसन ताप्लेजुङकै कलाकारहरु उत्सव साँवा, निलम न्यौपाने र रमेश सिवाले लिई सुरु भएको ताप्लेजुङ आईडल सिजन ३ को फाइनलमा ६ जना गायक-गायिकाले प्रतिस्पर्धा गरेका थिए भने भोट र जुरीको निर्णयको आधारमा पहिलो, दोस्रो र तेस्रो छुट्याइएको थियो ।

फाइनलमा पाँचथरका मिलन विश्वकर्मा र ताप्लेजुङ भानु मा.वि.का संगीत गुरु उत्सव साँवाले जुरीको भूमिका निर्वाह गरेका थिए । कार्यक्रमको आकर्षणको रुपमा बूगी-वूगीकी विजेता प्रख्यात नृत्याङ्गना कविता नेपालीले नृत्य प्रस्तुत गरेकी थिइन् ।

कोभिड र आर्थिकको कारण यस्तो पुण्य कार्य नियमित संचालन गर्न नसकेपनि जेजति काम भएका छन् त्यसको नतिजा उत्साहजनक पाएको र आफ्नो गाउँ समाज यस्तो काममा सहयोग गर्न उत्साही भएको र सबै सहयोगी मनलाई हार्दिक आभार व्यक्त गर्दछन् क्लवका अध्यक्ष भुवन आङ्बुहाङ ।

 ताप्लेजुङ आइडल


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !