१८ बैशाख २०८१, मंगलबार

‘मिस युनिभर्स नेपाल’ मा विवाहित, आमा र जुनसुकै तौलकाले भाग लिन पाउने


मिस युनिभर्स नेपाल

काठमाडौँ । ‘मिस युनिभर्स’मा नेपालका प्रतिनिधि पठाउने उमङ क्रियशनले यो वर्षको ‘मिस युनिभर्स नेपाल २०२३’ को सुरुआत गरेको छ । आज पर्यटन बोर्डको हलमा एक समारोहको आयोजना गर्दै आगामी संस्करणमा सहभागी हुन झनै फराकिलो दायरा बनाएको घोषणा गरिएको छ । यस प्रतियोगिताका राष्ट्रिय निर्देशक नग्मा श्रेष्ठले सहभागिताको मापदण्डलाई खुकुलो बनाइएको जानकारी दिए ।

उनले भने, “यो प्रतियोगिता सबैका लागि होस् भनेर हामी लचिलो भएका छौँ । यसपटक हामीले सौन्दर्यको सीमा हुँदैन भन्ने विश्वासका साथ विवाहित र आमाहरूलाई समेत सहभागी गराउने छौँ ।”

उनले उचाइ वा तौल स्वीकारेर ट्रान्सवुमन, गैरआवासीय र विवाहितसँगै आमालाई समेत सहभागी गराइने निर्णय सौन्दर्य प्रतियोगितामा पहिलोपटक भएको जानकारी दिए । “सबै आकारका महिला, देशबाहिर रहेकालाई देशको प्रतिनिधित्व गर्ने अवसर र विवाहित भएर पनि सपना देख्न नछोड्नु भन्ने उद्देश्य हाम्रो हो”, निर्देशक श्रेष्ठले भने । यस संस्करण मापदण्डहरूलाई चुनौती दिँदै, अवरोधहरू तोड्दै, परिवर्तन र प्रेरणाको प्रकाशको रूपमा चम्कने उनको विश्वास छ ।

यो प्रतियोगितामा भदौ २२ मा घोषणा हुने विजेताले ७२औँ ‘मिस युनिभर्स’को मञ्चमा नेपालको प्रतिनिधित्व गर्नेछिन् । यस प्रतियोगितामा विजेतासँगै चार उपविजेतासमेत घोषणा हुनेछन् । गत जेठ २३ गतेबाट सुरु भएको दर्ता आगामी साउन १८ सम्म चल्नेछ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !