१९ बैशाख २०८१, बुधबार

नाबालिग बलात्कार प्रकरण : एलओडीका दुई सञ्चालकहरु फरार


एलओडीका सञ्चालकहरु फरार

काठमाडौँ । काठमाडौँको ठमेलस्थित लर्ड अफ द ड्रिंक्स (एलओडी) क्लबका सञ्चालकहरु फरार भएका छन् । एलओडी क्लबका सञ्चालकहरु रुदिलबल्लव श्रेष्ठ र राजुसिंह सुवाल फरार भएको प्रहरीले जनाएको हो ।

नाबालिग बलात्कारको मुद्दामा जोडिएपछि एक सातादेखि मोबाइल फोन बन्द गरेर एलओडी क्लबका सञ्चालक श्रेष्ठ र सुवाल फरार भएको प्रहरीले जनाएको छ । प्रहरीले क्लबका दुई सञ्चालकविरुद्ध असार १३ गते जिल्ला अदालत काठमाडौंबाट पक्राउ पूर्जी लिएको थियो ।

एलओडीमा पुगेकी नाबालिग बलात्कृत भएपछि प्रहरीले क्लबका सञ्चालकहरुविरुद्ध पक्राउ अनुमति लिएको छ । जिल्ला प्रहरी परिसर ललितपुरले ललितपुर जिल्ला अदालतबाट क्लबका दुईजना सञ्चालकविरुद्ध पक्राउ अनुमति लिएको हो ।

गत जेठ ३१ गते एलओडी क्लब पुगेकी १६ वर्षीया नाबालिगलाई पोखरा घर भएका ५० वर्षीय सुदन कोइरालाले ललितपुरमा आफ्नो कोठामा लगेर बलात्कार गरेका थिए । ती युवतीले आफू बलात्कृत भएको भन्दै जिल्ला प्रहरी परिसर, ललितपुरमा किटानी जाहेरी दिएकी छन् ।

फरार रहेका कोइरालालाई सोही दिन पक्राउ गरिएको थियो । बलात्कार गरेको आरोपमा कोइराला पक्राउ परेपछि क्लबका सञ्चालकहरु पनि तानिएका हुन् । पक्राउ पूर्जी लिएलगतै लाजिम्पाटस्थित उनीहरुको निवासमासमेत प्रहरीले खोजतलास गर्दा पनि उनीहरु फेला नपरेको प्रहरीले बताएको छ ।

उदयपुर घर भएकी ती नाबालिगले हालैमात्र एसईई परीक्षा दिएकी हुन् । उनी घुम्नका लागि काठमाडौँ आएको प्रहरी समक्ष बताएकी छन् । नाइट क्लबमा नाबालिग प्रवेश गर्न मिल्दैन । तर ती नाबालिगलाई क्लबमा प्रवेश गर्न दिएको भन्दै प्रहरीले उनीहरुलाई पनि पक्राउ गर्न अनुमति लिएको हो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !