१८ बैशाख २०८१, मंगलबार

ताप्लेजुङ दोभानका आगलागी पीडितलाई पूर्वमन्त्रीले गरे यतिठूलो सहयोग


ताप्लेजुङ आगलागी फाइल फोटो

ताप्लेजुङ । पूर्वसूचना तथा सञ्चारमन्त्री एवं नेपाली कांग्रेसका नेता मोहनबहादुर बस्नेतले ताप्लेजुङको दोभानका आगलागी प्रभावित परिवारलाई सहयोग प्रदान गरेका छन् ।

आज आगलागी क्षेत्रको निरीक्षणपछि आफ्नो पहलमा सुनकोशी गाउँपालिका सिन्धुपाल्चोकमा सङ्कलित ६ लाख नगद आगलागी प्रभावित परिवारलाई प्रदान गर्नुभएको हो । उनले मेरिङदेन गाउँपालिका मार्फत वितरण हुने गरी उक्त गाउँपालिकाका अध्यक्ष गणेश चोङ्बाङलाई उक्त सहयोग रकम हस्तान्तरण गरेका थिए ।

आगलागीले पुर्याएको क्षतिप्रति दुःख व्यक्त गर्दै उनले नेपाली कांग्रेस केन्द्रीय कार्य समितिबाट समेत ६ लाख सहयोग प्रदान हुने जानकारी दिए । राहत वितरण कार्यक्रममा सुनकोशी गाउँपालिका अध्यक्ष श्रवण जिसी लगायतको उपस्थिति थियो ।

यसैबीच आगलागीबाट पीडित परिवारमध्ये सबैभन्दा गरीब तथा निम्नवर्गको परिवारका एक जना बच्चालाई राजधानीमा नै उच्च शिक्षासम्म निःशुल्क अध्ययनका लागि सहयोग गर्ने नेता बस्नेतले बताए ।

भूकम्प, बाढी पहिरो, आगलागी जस्ता घटनाबाट पीडित बनेकालाई सहयोग गर्दै आएका नेता बस्नेतले दोभानका आगलागी पीडित परिवारको दिगो व्यवस्थापन तथा पुनःस्थापनामा गम्भीर हुन सरकारसँग आग्रह समेत गरे ।

यता सोही कार्यक्रमका बीच कांग्रेस आबद्ध लोकतान्त्रिक खेलकूद विभागले ७५ हजार र इलामको माइभ्याली फुटबल क्लबले ५० हजार आगलागी प्रभावित परिवारलाई सहयोग प्रदान गरेको छ । दुवै संस्थाले गाउँपालिकामार्फत सहयोग प्रदान गरेका हुन् ।

गएको फागुन १८ गते भएको आगलागीले दोभान बजारका ५० घर नष्ट भएका थिए भने ६३ परिवार विस्थापित बनेका थिए । विस्थापित परिवार अहिले आगलागी क्षेत्रमा नै टेण्ट टाँगेर बसेका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !