२२ बैशाख २०८१, शनिबार

राष्ट्रिय गौरवका आयोजनाको छनौटमा पुनर्विचार गर्नुपर्छ : ऊर्जामन्त्री बस्नेत


राष्ट्रिय सरोकार समिति

काठमाडौँ । उर्जा जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले राष्ट्रिय गौरवका सिँचाइ आयोजनाहरुको छनौटका लागि निश्चित मापदण्ड बनाउनुपर्ने बताएका छन् ।

आज शुक्रबार सिंहदरबारमा बसेको राष्ट्रियसभा अन्तर्गतको राष्ट्रिय सरोकार तथा समन्वय समितिको बैठकमा मन्त्री बस्नेतले राष्ट्रिय गौरवका सिँचाइ आयोजनाहरुका लागि निश्चित मापदण्ड बनाउनुपर्ने बताएका हुन् ।

उनले राष्ट्रिय गौरवका आयोजनाहरुको समग्र पक्षमा नै पुनर्विचार गर्नुपर्ने बेला आएको पनि बताए । उनले राष्ट्रिय गौरवका आयोजनाका प्रमुखहरुले सरुवा माग्दा पनि आफूले त्यही बसेर काम गर्न अनुरोध गर्ने गरेको समेत बताए ।

यद्यपि उनले विभिन्न सिँचाइ आयोजनाहरू लामो समयदेखि निर्माणाधीन रहेको भन्दै उक्त आयोजनाहरूलाई बजेट अभाव नदिने प्रतिबद्धता व्यक्त गरेका छन् । सिँचाइ आयोजना निर्माणलाई निरन्तरता दिइएको र पूर्ण रूपमा सम्पन्न नभएपनि जनताले भने त्यसबाट लाभ लिइरहेको उनले बताए ।

मन्त्री बस्नेतले आयोजना निर्माणमा केही ढिलाइ भएकाले समय तोकेरै सम्पन्न गर्नेगरी काम अघि बढेको धारणा राखे । त्यस्तै, उनले सुक्खायाममा विद्युतको आयात घटाउन उत्पादन बढाउनुपर्ने र जलाशययुक्त आयोजनाहरूमा ध्यान दिनुपर्ने बताए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !