१४ बैशाख २०८१, शुक्रबार

अंग्रेजी भाषामा पठनपाठन शुरु भएपछि विद्यार्थीको आकर्षण बढ्दो


School

१५ वैशाख, धनकुटा । जिल्लाका सामुदायिक विद्यालयमा अंग्रेजी भाषाको पठनपाठन शुरु भएपछि विद्यार्थीको आर्कषण बढ्न थालेको छ ।

धनकुटा जिल्लाका सातवटा स्थानीय तहमा रहेका सामुदायिक विद्यालयले विद्यार्थी आर्कषण गर्नका लागि गुणस्तरीय शिक्षा प्रदान गर्ने उद्देश्यले अंग्रेजी भाषाबाट पठनपाठन शुरु गर्न थालेका छन् ।

विद्यार्थी संख्या अति न्यून हुन थालेपछि जिल्लाका सामुदायिक विद्यालयले अंग्रजी भाषामा पठनपाठन शुरु गर्न थालेका हुन् ।

जिल्लाका नगरपालिका र गाउँपालिकाका प्रायःजसो सबै सामुदायिक विद्यालयले नर्सरीदेखि कक्षा ३ सम्म यस शैक्षिक सत्रदेखि निजी विद्यालयले पढाउने अंग्रेजी भाषाका पाठ्यपुस्तक ल्याएर पठनपाठन थालेका जिल्ला शिक्षा कार्यलय धनकुटाले जनाएको छ ।

विद्यालयमा अंग्रेजी माध्यम शुरु भएसँगै निजी विद्यालयका विद्यार्थी सामुदायिक विद्यालयतर्फ आकर्षित हुनथालेको मार्गेश्वरी प्राथमिक विद्यालय धनकुटाका शिक्षक टेकबहादुर खत्रीले बताए ।

जिल्लाका विभिन्न प्राथमिक विद्यालयमा बालविकास कार्यक्रम एवं शिशु कक्षा सञ्चालन भएका विद्यालयमा नर्सरी, एलकेजी, यु केजी नामाकरण गरी अंग्रेजी माध्यममा पढाई थालिएको छ । विद्यार्थी अभावमा समायोजन हुन लागेका विद्यालय समेत अंग्रजी माध्यमबाट पठनपाठन शुरु भएपछि विद्यार्थीको अध्याधिकचाप बढेको ज्वालादेवी प्राथमिक विद्यालय सेउलेका प्रधनाध्यापक रामहरि सुवेदीले बताए।

सस्तो र घरपाएक गुणस्तरीय अंग्रेजी माध्यमबाट पठनपाठन शुरु भएसंगै अभिभावको सक्रियता र बालबालिका आर्कषण यसप्रति ह्वातै बढेको धनकुटा नगरपालिका भिरगाउँस्थित श्रीमान टंक माध्यामिक विद्यालयका प्रधानाध्यापक वासुदेव निरौलाले बताए।

जिल्लामा रहेका हरेक सामुदायिक विद्यालयमा अंग्रेजी माध्यमबाट पढाउने छुट्टै दुई जनाशिक्षक व्यवस्था गरेका धनकुटा नगरपालिका– ३ का वडाअध्यक्ष विकाश घिमिरेले जानकारी दिनुभयो । विद्यालयको शैक्षिक गुणस्तर सुधारका लागि स्थानीय अभिभावकले नर्सरीदेखि ३ कक्षासम्म अध्ययनरत बालबालिकालाई छुट्टै विद्यालय पोसाक र शैक्षिक सामग्री समेत उपलब्ध गराउन थालेका छन् ।

जिल्ला शिक्षा कार्यालयको सर्वेक्षणमा जिल्लाका चार सय १२ सामुदायिक विद्यालयमध्ये १६ वटा समयोजन भएपनि थप चार दर्जन विद्यालय बन्द हुने जिल्ला शिक्षा अधिकारी रामबहादुर थापाले बताए ।

शिक्षा नियमावलीमा पहाडी क्षेत्रमा ४० विद्यार्थी बराबर एक शिक्षक तोकिएको भएपनि अतिन्यून विद्यार्थीका कारण सो नियमावली कार्यान्वयन हुन सकेको छैन । शिक्षा विभागले २० भन्दा कम विद्यार्थी भएका विद्यालयलाई नजिकको विद्यालयमा समायोजन गर्न निर्देशन दिएपनि सो पनि कार्यान्वयन नभएको जिल्ला शिक्षा अधिकारी थापाले बताए ।

कुल दुई सय ९६ सामुदायिक र ३० संस्थागत विद्यालय रहेको जिल्लामा शिक्षा क्षेत्रमा हुने अत्यधिक राजनीति, शिक्षकको लापरवाही र अंग्रेजी भाषातर्फ सर्वसाधरणको आकर्षणलगायतका कारणले सामुदायिक विद्यालयप्रतिको आकर्षण कम हुँदै गएको र अहिले त्यसमा व्यापक सुधार भइरहेको राष्ट्रिय अभिभावक संघका केन्द्रीय उपाध्यक्ष सुन्दरबाबु श्रेष्ठले बताए । (रासस)


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !