नेपालपत्र, १० वैशाख २०७५ । आज पुस्तक लेख्नेहरुको उत्सव तथा पुस्तक पढ्नेहरुको उत्सव । अझ भनौँ न पुस्तकमा रमाउनेहरुको उत्सव ।पुरानो लुगा लगाऔं, नयाँ पुस्तक किनौं भन्ने हाम्रो प्रचीन मान्यता रहेपनि त्यसले व्यवहारमा रुप धारण गर्न सकेको देखिन्दैन । त्यसमा पनि पछिल्लो समय पुस्तक पढ्ने संस्कृतिको कमी रहेको देख्न सकिन्छ ।
सन् १९९५ अप्रिल २३ तारिखका दिनदेखि हरेक वर्ष विश्वमा विभिन्न कार्यक्रमहरु गरेर विश्व पुस्तक दिवस मनाइने गरिन्छ । नेपालमा पनि पछिल्ला केही वर्ष यता विभिन्न कार्यक्रम गरेर पुस्तक दिवस मनाइने गरिन्छ । पुस्तक दिवसकै अवसर पारेर साथीसंगीबीच पुस्तक उपहार दिने चलन पनि नेपालमा बढ्दै गएको छ । यस वर्ष पुस्तक दिवसको थिम ‘शेयर अ स्टोरी’ राखिएको छ । यो वर्ष अभिभावक तथा सरसंगीबीच एकअर्कालाई कथा पढ्न र सुनाउन आग्रह गरिएको छ ।
नेपालमा भने औपचारिक रुपमा पुस्तक दिवस मनाउन थालेको धेरै समय भएको छैन । अन्यदेशको तुलनामा नेपालमा पढ्ने संस्कृतिको विकास पनि धेरै भएको पाइदैन । केहि सीमित व्यक्तिहरुले मात्र पुस्तक पढ्ने बानी बसालेको देख्न सक्छौ । यसबाट हाम्रो समाजमा अझैपनि शिक्षामा पहँुचको कमि नै भएको प्रष्ट हुन्छ ।
पुस्तक दिवसको प्रचलन स्पेनबाट सुरु भएको हो । अप्रिल २३ का दिन स्पेनमा ‘गुलाब दिवस’ मनाइन्थ्यो । भ्यालेन्टाइन दिवसका दिन जस्तै एक अर्का गुलाब साटासाट गरेर एकअर्काप्रति माया र सद्भाव साट्ने गर्थे । तर सन् १९२६ मा स्पेनिस लेखक मिगेल डि सेर्भेन्टासको स्मृति दिवस पारेर गुलाबको साटो स्पेनी नागरिकहरुले पुस्तक आदान–प्रदान गर्न थालियो । स्पेनमा सन् १९२६ बाटै पुस्तक दिवस जस्तै गरी विशेष कार्यक्रम मनाइन्थ्यो । त्यसैबाट विश्व पुस्तक दिवस मनाउने अवधारणा आएको थियो । विश्व पुस्तक दिवसका दिन विश्वभर नै विभिन्न साहित्यिक उत्सव तथा समारोहहरु मनाइन्छ ।
नेपालमा धेरै नै पुस्तकहरु प्रकाशित हुने गरेपनि त्यस अनुरुपको पाठकको चासो देख्न सकिदैन । पाठकले रुचिपूर्वक पुस्तकहरु अध्ययन गरेको धेरै नै कम मात्र पाउन सकिन्छ । यस्तो अवस्थाको सिर्जना किन भयो भन्ने विषयमा छुट्टै अध्ययन हुन सक्दछ । तर हामीले ज्ञान बढाउनको लागि पुस्तकको अध्ययन अनिवार्यता रहेको हुँदा हाम्रो व्यवहारमा समेत अध्ययन गर्ने बानी बसाल्नु आवश्यक छ ।