७ बैशाख २०८१, शुक्रबार

एमालेका नेताहरुको पतन निश्चित : आफ्नो घरमा आगो लगाएर अरुको घरमा भीख माग्दै


ओली र देउवा तथा नेपाल र देउवा

काठमाडौँ । अहिले नेकपा एमालेका नेताहरुले ‘आफ्नै घरमा आगो लगाएर’ खरानी बनाई अरुको घरमा भीख माग्दै हिडेको देख्दा यसलाई भनिन्छ – ‘विनाश काले विपरीत बुद्धि’ । एमालेका नेताहरु माधव नेपाल र झलनाथ खनाल तथा पार्टी अध्यक्ष केपी शर्मा ओली आफ्नै संसद्को सबभन्दा ठुलो पार्टीलाई विभाजन नजिक पुर्याएर विपक्षी दल नेपाली काँग्रेसका सभापति शेर बहादुर देउवाको शरणमा पुगेर खिसीको पात्र भई रहेका छन् ।

नेकपा एमालेका अध्यक्ष समेत रहेका प्रधानमन्त्री ओलीले हिजो प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको निवास बुढानीलकण्ठ पुगेर आफूलाई विश्वासको मत दिन आग्रह गरेका छन् । नेकपा माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि अल्पमतमा परेका प्रधानमन्त्री ओली अत्तालिएर गुहार माग्दै देउवाको निवासमा पुगेका थिए ।

बैठकपछि हिजो नेपाली कांग्रेसका सह-महामन्त्री डा. प्रकाशशरण महतले विश्वासको मत लिने प्रक्रियामा सहयोग गर्न प्रधानमन्त्री ओलीले आग्रह गरेपनि कांग्रेस सभापति देउवाले प्रमुख प्रतिपक्षी दल भएकोले कांग्रेसले विश्वासको मत दिन नसक्ने स्पष्ट पार्दै सो प्रस्तावलाई अस्वीकार गरेका थिए ।

ओलीले आफ्नै पार्टीका नेता माधव नेपालसँग पार्टीको आन्तरिक विवादलाई आपसी समझदारीद्वारा मिलाउन नसकी पार्टी विभाजनउन्मुख पुर्याएर देउवाको शरणमा पुग्दा देउवाले गरेको यो अस्वीकारलाई आफ्नै भएकी सुन्दर श्रीमतीसँग सम्वन्धविच्छेद गरेर डिभोर्सी अर्की स्त्रीलाई श्रीमति बनाउन खोज्दा नमाने जस्तै भएको तुलना गर्न सकिन्छ ।

यता नेपाल पनि के कम उनले त झन् तत्कालिन नेकपा अस्तित्वमा भएकै समयमा समेत प्रचण्डसँग मिलेर ओलीविरुद्ध भण्डाफोर गर्दै देउवालाई नै प्रधानमन्त्री बन्न सक्नेसम्मको ‘अफर’ गरेका थिए । हिजो मात्र उनले पनि नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवसँग भेटवार्ता गरी प्रधानमन्त्री ओलीको बहिगर्मनका लागि एकजुट भएर अगाडि बढ्ने सहमति गरेका छन् ।

हात्तिवनस्थित जसपा नेपालका अध्यक्ष यादवको निवासमा हिजो भएको छलफलमा प्रधानमन्त्री ओलीको विश्वासको मतलाई एकजुट भएर असफल पार्न उनीहरु सहमत भएका छन् । जसपा नेपालबाट सहमतिले नै प्रधानमन्त्री ओलीको विश्वासको मतको विपक्षमा उभने सहमति नभए २० जनाभन्दा बढी सांसद त्यसको विरुद्धमा उभिने अध्यक्ष यादवले भनेको स्रोतले जनाएको छ ।

प्रधानमन्त्री समेत रहेका एमालेका अध्यक्ष ओलीलाई उनकै पार्टीको अर्को समानान्तर समूह खनाल-नेपाल समूहले धोका दिन ठूलो षडयन्त्र गरिरहेको छ । खनाल-नेपाल समूह ‘आफ्नै खुट्टामा बन्चरो’ हानेर विपक्षी दल काँग्रेसका सभापति देउवालाई प्रधानमन्त्री बनाउने घिनलाग्दो खेलमा लागेको छ भने पार्टी अध्यक्ष ओलीले पनि पार्टीको आन्तरिक विवाद आपसी समझदारीवाट नमिलाएर उनी पनि देउवाको शरणमा पुग्न बाध्य भएका छन् ।

राष्ट्रपति विद्यादेवी भण्डारीले वैशाख २७ गते सोमबार दिउँसो १ बजेका लागि संसद्‍को विशेष अधिवेशन आह्वान गरेकी छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिने प्रयोजनका लागि राष्ट्रपतिबाट प्रतिनिधिसभाको अधिवेशन आह्वान भएको हो ।

एमालेको उक्त खनाल-नेपाल समूहले वैशाख २७ अघि नै आफ्ना समूहका सांसदले सामूहिक राजीनामा गराएर आफ्नै पार्टीका प्रधानमन्त्री ओलीलाई धोका दिएर कांग्रेस-माओवादी गठबन्धनलाई बहुमत पुर्‍याउने खेलमा सहज बनाउन भर्यांङ हाल्दिन लागेको हो ।

खनाल-नेपाल समूहले ओलीलाई सत्ताच्यूत गर्न र उनकै नेतृत्वमा चुनावमा जान नदिन विपक्षी गठबन्धनलाई बहुमतमा पुर्‍याइदिने खेलमा सहजकर्ताको भूमिका निर्वाह गर्न लागेको सूचना प्राप्त भएको छ । खनाल-नेपाल समूहका कम्तीमा २० जना सांसदले सामूहिक राजीनामा दिनेबारे सोमबारदेखि सघन छलफल जारी राखेको छ ।

आफूहरूले विश्वासको मत दिए ओली सरकार जोगिने र नदिए पनि जसपाको एउटा पक्षको साथ पाएर ओलीले नै चुनाव गराउने परिस्थिति देखिएपछि खनाल-नेपाल समूह गहन छलफलमा लागेको हो । यस्तो अवस्थामा वैशाख २७ अघि नै एमाले विभाजन भईसक्ने देखिन्छ । वैशाख २७ गते अघि नै सत्तारुढ दल एमालेमा ठूलो उथलपुथल हुने संकेत आंकलन गर्न सकिन्छ ।

माधव नेपाल कहिले अर्को पार्टीका अध्यक्ष प्रचण्डसँग त कहिले जसपाका अध्यक्ष उपेन्द्र यादवको साथै काँग्रेसका सभापति देउवासँग अनेक तानावाना बुनेर आफ्नै पार्टीका अध्यक्ष ओलीलाई सरकारवाट जसरी पनि हटाउन लागी परेका छन् भने यता प्रधानमन्त्री ओली पनि सत्ता-लिप्साको कारणले जसपाका अर्का अध्यक्ष महन्त ठाकुरको काखी च्यापेर ठूलो भागबण्डा ठाकुरलाई दिएर सरकारमा जूको जस्तो टाँसिन खोजिरहेका छन् ।

तत्कालिन नेकपा भएकै बेला प्रचण्ड-नेपाल गुट बनाएर राजनीतिक रुपमा विभाजन भएको नेकपा र सर्वोच्च अदालतको फैसलाले साविकको अलग अस्थित्वमा रहेका एमाले र माओवादी केन्द्र पुन:स्थापित भए । यदि एमाले विभाजन भए ‘भाई फुटे, गवार लुटे’ भनेझैँ एमालेको अस्तित्व त संकटमा नै पर्ने निश्चित छ तर नेपाली काँग्रेसलाई आगामी निर्वाचनमा ठूलो चिट्ठा पर्ने देखिन्छ ।

आफ्नो व्यक्तिगत स्वार्थपूर्ति र सत्तामोहले दुई तिहाईको सरकार नेपालका कम्युनिष्ट पार्टीहरुलाई ‘बाँदरको हातमा नरिवल’ जस्तै भएको छ । उनीहरुले नागरिकले दिएको यत्रो ठूलो अभिमतको उपेक्षा गरेकोले भविष्यमा उनीहरु त राजनीतिक रुपमा नांगिने नै छन् तर आम नेपाली नागरिकको दुखको दिन कहिले नै अन्त्य नहुने देखिएकोले नेपालको राजनीति ठुलो अध्यारो सुरुङतर्फ धकेलिने संकेत देखिएको छ ।

जे भएपनि ‘भाई फुटे, गवार लुटे’ भन्ने नेपाली उखान अनुसार नेकपाको विभाजनले प्रमुख कम्जोर तथा भूमिकाविहीन प्रतिपक्ष दल नेपाली काँग्रेसलाई आगामी निर्वाचन फाइदा पुग्ने सहजै अनुमान गर्न सकिन्छ भने नेकपाको दुवै समूहको हालत कम्जोर हुने प्रष्ट देखिन्छ । तर दुई तिहाई बहुमतको शक्तिशाली सरकार बन्ने सम्भावना नरहेकोले भविष्यमा मिलिजुली सरकार बनाउने र गिराउने खेल हुने देखिएकोले नेपालमा राजनीतिक अस्थिरता हुने देखिनु आम नेपाली नागरिकको लागि बिडम्वना कुरा हुनेछ ।

नेपालका राजनीतिक दलका अधिकांश नेताहरुमा कुनै राजनीतिक नैतिकता देखिदैन । नेपाली जनताको आँखामा छारो हानेर भ्रम सिर्जना गर्ने गरेका सवै राजनीतिक दलका नेताहरुको खोपडीमा सद्वुद्धि कहिले आउने हो ? शक्ति र सत्तामा पाउँदा त्यसकै जयजयकार गाउने सत्ता नपाउँदा त्यसकै चर्को आलोचक हुने नेपाली नेताहरुको पुरानै आनीबानी रहेको समेत राजनीतिक विश्लेषकको विचार रहेको छ ।

राजनीतिक दलका नेताहरुको व्यक्तिगत स्वार्थपूर्ति, सत्ता र शक्तिको होडबाजी गर्ने घिनलाग्दो हर्कत धेरै टिक्ने देखिदैन किनकी बागमतीमा धेरै पानी बगिसकेको छ । आम नेपाली जनता धेरै शिक्षित र सचेत भईसकेका छन् । राजनीतिक दलका सवै नेताहरुले देखाइरहेको सत्ता मोहले आम नेपाली जनता वाक्कदिक्क भई सकेका छन् ।

नेपालमा यी दुवै नेताहरुको व्यक्तिगत स्वार्थ, सत्ताको मोहले फेरि नेकपामा सानोतिनो महाभारत युद्ध हुने संकेत देखिदैछ । एमालेका यी दुवै नेताहरुले व्यक्तिगत स्वार्थमा मात्र सीमित भएर एकले अर्कोलाई ‘युज एण्ड थ्रो’ गर्ने रणनीति पार्टीको लागि दुर्भाग्यको कुरा हो ।

नेपालले आफ्ना पार्टीका अध्यक्ष ओलीलाई अनेक आरोप-प्रत्यारोप लगाएर पार्टी र नेताहरुको बेइज्वत गर्ने काम बन्द गर्नुपर्ने हुन्छ । खनाल-नेपाल समूहले बाहिर होटेलमा बैठक बोलाएर समानान्तर कमिटी गठन गर्दै हिड्ने काम तुरुन्त बन्द गर्नुपर्ने देखिन्छ । विभाजनको संघारमा पुगेको एमालेलाई जोगाउनु यी दुवै एमालेका नेताहरुले किन भुल्दैछन् आफ्नो कर्तव्य ?

दुर्योधनको घमण्ड, धृतराष्ट्रको सत्ता-लिप्सा र पुत्र-मोह तथा शकुनीको षड्यन्त्रले निम्त्याएको महाभारत युद्धमा पूरै कौरव वंशको विनाश भएको थियो भने पाँच भाइ पाण्डवहरूका तेह्र भाइ पुत्रहरू सबै मारिएर अभिमन्यु र उत्तरा पुत्र परीक्षित एक मात्र जीवित रहेका हुनाले पाण्डवहरूको वंश विनाश हुनबाट रोकिएको थियो । एमालेका यी दुई समुहका नेताहरुको अहिलेको गतिविधि हेर्दा यी नेताहरुको पतन निश्चित देखिएको छ ।

महाभारत युद्ध रोक्न हरसम्भव प्रयास गर्दै शान्तिदूत श्रीकृष्णले दुर्योधनलाई पाण्डवहरूलाई केवल ५ वटा गाउँ दिएर युद्ध रोक्न प्रस्ताव गरेतापनि दुर्योधनले पाण्डवहरूलाई सियोको टुप्पो जत्तिकै जमिन पनि दिन इन्कार गरे, युधिष्ठिर अन्ततः युद्ध गर्न बाध्य भए । एमालेमा पनि पार्टीलाइ एकताबद्ध राख्न सहजकर्ताको मध्यमार्गी भूमिका खेलिरहेका केहि जुझारु यूवा नेताहरुको प्रयास पनि सफल हुने सम्भावना एकदम न्यून देखिन्छ । सम्भवत: एमाले विभाजन हुने निश्चित जस्तै देखेको छ तर कुनै त्यस्तो चमत्कारिक मध्यमार्गी शक्तिले एक एमालेको विभाजन जोगाउन सक्ने देखिदैन ।

वास्तवमा दुर्योधनको घमण्डको साथै उच्च महत्त्वाकांक्षाको मुख्य कारणले गर्दा महाभारत युद्ध भएको थियो । उनलाई घमण्ड र अन्यायका प्रतिकको रूपमा चिनिन्छ । महाभारत प्राचीन भारतको वैदिक कालको इतिहासको सबभन्दा ठूलो लडाइँ थियो । यस युद्धमा लाखौं क्षत्रिय योद्धाहरू मारिएकोले विकासको चरम अवस्थामा पुगेको भारत वर्षको वैदिक संस्कृति र सभ्यता एकाएक नष्ट भयो ।

पार्टीभित्र देखिएका अन्तर्विरोधलाई मिलाएर पार्टीका नेता, कार्यकर्ताका साथै आम नेपाली जनतालाइ केन्द्रमा राखेर कसम खाएर मिल्नुपने स्थितिमा पार्टी नै विभाजन गरेर जानु भनेको लज्जास्पद कुरा हो । नेकपाका नेता-कार्यकर्तादेखि आम सवै नेपाली जनताहरु यी ओली र नेपालले देखाएको हर्कतले वाक्क-दिक्क भई सकेका छन् ।

माधव नेपालले आफ्नो राजनीतिक भविष्यको सुनिश्चतता खोजेकोले महाधिवेशनमा नेपाललाई अध्यक्षको आश्वाशनको जेन्टलमेन एग्रीमेन्ट गरिदिएर पार्टीलाइ एक बनाउन प्रधानमन्त्री ओली किन तयार नभएको ? २०७५ जेठ ३ भन्दा अगाडिको अवस्थामा फर्किएर एकताको गर्न किन ओलीले भूमिका नखेलेको हो ? यस्तै संसदको ठुलो दल एमालेका नेताहरुलाई जनताले दिएको अभिमत बाँदरको हाँतमा नरिवल भएजस्तो भएको छ ।

विश्वमा अस्ताउदो अवस्थामा रहेको कम्युनिष्ट शक्तिको बर्चस्वलाई नेपाली जनताले ठूलो आशा र भरोशा गरेर फेरि उदाउँदो अवस्थामा ल्याइदिएका थिए । ‘विनाश काले विपरीत बुद्धि’ भनेझै अहिले नेकपा एमालेका नेताहरुले ‘आफ्नै घरमा आगो लगाएर’ खरानी बनाई अरुको घरमा भीख माग्दै हिडेका छन् । व्यक्तिगत शक्ति संघर्ष र सत्ता मोहको जालमा फसेर यिनीहरुले एमालेको विनाशको बाटोतिर लागिरहेका छन् ।

नेकपाका यी दुवै समूहले आफ्नै घरमा आगो लगाएर के अभिष्ट प्राप्त गर्न खोजिरहेको छ ? यो प्रश्न आम एमालेका कार्यकर्ताको मनमा उब्जिरहेको छ । नेकपाका यी दुवै समूहको स्थिति भोलि सिपि मैनाली र मोहन बैद्य जस्तो किनारा लागेर जाने त होइन भन्ने विश्लेषण गर्न सकिन्छ । राम राम भन्न मात्र सकिन्छ काँध थाम्न सकिदैन । एमालेका सवै यी शीर्ष नेताहरुको बेलैमा सद्बुद्धि आओस् भन्ने कामना मात्र गरौ ।

यो पनि पढ्नुहोस्

प्रधानमन्त्री ओलीले विश्वासको मत दिन गरेको आग्रह कांग्रेसद्वारा अस्वीकार


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !