१५ बैशाख २०८१, शनिबार

शेयर बजारमा नयाँ इतिहास कायम भएको वर्ष २०७८


नेपाल स्टक एक्सचेन्ज

काठमाडौं । बाइस अर्ब बराबरको कारोबार, नेप्से परिसूचकमा उच्च अङ्कको वृद्धि, हितग्राही खाता खोल्नेको सङ्ख्यामा बहार, नेपालको शेयर बजारमा वर्ष २०७८ ले स्थापित गरेको मानक हो ।

सिडिएस एण्ड क्लियरिङ लिमिटेडका अनुसार हालसम्म ५१ लाख २१ हजार ८६१ वटा हितग्राही खाता खुलेका छन् । यस्तै, ४२ लाख ३५ हजार ३९३ वटा मेरो शेयरको एकाउण्ट खोलिएको छ ।

कूल आठ अर्ब ३६ करोड १५ लाख ४३ हजार ६८४ कित्ता शेयर अभौतिकीकरण गरिएको छ । यो विवरणले पनि नेपालको शेयर बजारमा भएको विस्तार र विविधिकरणको चित्रण गर्दछ ।

दोस्रो बजारमा शेयर कारोबारका लागि नेपाल स्टक एक्सचेञ्जमा हालसम्म ३३० कम्पनी सूचीकृत भएका छन् । नेप्सेमा अझै पनि बैंक तथा वित्तीय संस्था एवं बीमा कम्पनीको बोलवाला देखिन्छ ।

वर्ष, २०७८ ले शेयर बजार नयाँ उचाइमा पुग्न सक्छ भन्ने एउटा रेकर्ड कायम गरेको छ । मिश्रित एवं पूँजीवादी अर्थ राजनीतिक प्रणाली अवलम्बन गरेका धेरै देशमा शेयर बजारमार्फत पूँजी सङ्कलन गर्ने र लगानी विस्तार गर्ने गरिएको छ ।

कोरोना भाइरस सङ्क्रमणको उच्च जोखिमका कारण लगानीका अन्य स्रोतमा भएको बञ्चितीकरणले पनि शेयर बजारमा असाध्यै ठूलो उभार आएको थियो । नेप्सेको विवरणअनुसार २०७८ भदौ २ गते नेप्से तीन हजार २०० को अङ्क नजिक पुगेको थियो । यो बिन्दु हालसम्मकै उच्च हो ।

त्यस दिन बजार पूँजीकरण रु ४४ खर्ब ६८ अर्ब ५० करोड ५३ लाख ९० हजार बराबर पुगेको थियो । राष्ट्रिय तथ्याङ्क विभागका अनुसार नेपालको कूल ग्राहस्थ उत्पादन (जीडीपी) रु ४१ खर्ब बराबर छ तर, बजार पूँजीकरण जीडीपी भन्दा रु तीन खर्ब बढी भएको थियो ।

त्यस दिन बजार पूँजीकरण रु ४४ खर्ब ६८ अर्ब ५० करोड ५३ लाख ९० हजार बराबर पुगेको थियो । राष्ट्रिय तथ्याङ्क विभागका अनुसार नेपालको कूल ग्राहस्थ उत्पादन (जीडीपी) रु ४१ खर्ब बराबर छ तर, बजार पूँजीकरण जीडीपीभन्दा रु तीन खर्ब बढी भएको थियो ।

विसं २०७७ चैत ३१ को अन्तिम कारोबार दिन नेप्से परिसूचक दुई हजार ७१४।७९ अङ्कमा बन्द भएको थियो । गत वर्षको पहिलो कारोबार दिन अर्थात् २०७८ वैशाख २ गते नेप्से परिसूचक २०।६७ अङ्कले बढेर दुई हजार ७३५।४६ मा बन्द भएको थियो ।

अनेकन उतारचढावका बीच नेप्से परिसूचकले गत भदौ २ गते सबैभन्दा उच्च बिन्दुको इतिहास कायम ग¥यो । त्यसदिन नेप्से परिसूचक तीन हजार १९८.६० मा पुगेको थियो ।

शेयर बजारमा थोरै पूँजी लगानी गर्नेले समेत राम्रै नाफा कमाएका थिए । तर, नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीतिमा व्यक्तिगत रुपमा रु चार करोड र परिवारका थप तीन जनाले रु १२ करोड बराबर मात्रै शेयर धितो कर्जा लिन पाउने बन्दोबस्ती गरेपछि शेयर बजारमा राम्रै हलचल भयो । शेयर लगानीकर्ताका विभिन्न समूहले केन्द्रीय बैङ्क शेयर बजार मैत्री नभएको भन्दै असन्तुस्टि व्यक्त गरे ।

शेयर बजारलाई उत्पादनशील क्षेत्र मान्ने कि अनुत्पादक क्षेत्र मान्ने भन्ने बहस सधैंजसो चलिरहेको छ । केन्द्रीय बैंकको लगानी सीमाले पनि सो बहसलाई सतहमा ल्याइदियो । धितोपत्र बजारको नियामक निकाय नेपाल धितोपत्र बोर्डका अध्यक्ष भीष्मराज ढुङ्गाना गैरकानुनी शेयर कारोबारमा संलग्न भएको पाइएपछि यसै वर्ष बर्खास्तीमा परे ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !