१५ बैशाख २०८१, शनिबार

पुरानो बसपार्कलाई खुल्लामञ्चमा सारेर बन्ने भयो काठमाडौं टावर


Kathmandu Tower Kathmandu Tower

काठमाडौं, चैत २३ – महानगरपालिकाले पुरानो बसपार्कलाई खुल्लामञ्चमा सार्ने काम अगाडि बढाएसँगै काठमाडौं टावर निर्माणको काम सुरु हुने भएको छ । महानगरपालिकाले पुरानो बसपार्कलाई व्यवस्थित रुपमा अन्यन्त्र सार्न नसक्दा टावर निर्माण प्रक्रिया ढिलो भएको थियो ।

अहिले खुल्लामञ्चमा बसपार्क निर्माणको काम धमाधम भइरहेको छ । खुल्लामञ्च र रत्नपार्कबिचको भागमा महानगरपालिकाले धमाधम बसपार्क निर्माण गरिरहेको हो । बसपार्क निर्माणको काम पुरा हुने बितिकै भवन निर्माणको काम तत्काल सुरु हुने महानगरपालिकाका प्रमुख कार्यकारी अधिकृत रुद्रसिहं तामाङले बताउनुभयो ।

काठमाडौं टावर निर्माणको काम भूकम्प अघि नै आएको हो । वैशाख अन्तिमबाट टावर निर्माण गर्ने भनिएता पनि वैशाख १२ गते आएको भूकम्प र त्यसपछिका पराकम्पले टावर निर्माको काम अन्योलमा परेको थियो । भूकम्पअघि ३० तले बनाउने भनिएको टावर भूकम्पपछि कति तला बनाउने भन्ने ठेगान अहिलेसम्म पनि हुन सकेको छैन । ‘१२ तलाका लागि स्विकृत भइसकेको छ । अरु कति तला बनाउने भन्ने विषयमा छलफल गर्न हामीले संसदमा प्रस्ताव पठाइसकेको छौं’ कार्यकारी अधिकृत तामाङले भन्नुभयो । भवनको बारेमा विस्तृत अध्ययन प्रतिवेदन डिपिआर र वातवरणीय प्रभाव मुल्यांकन समेत भइसकेकाले चाडैनै टावर निर्माणको प्रक्रिया अघि बढ्ने छ ।

टावर निर्माणका लागि तीन कम्पनी जलेश्वर, स्वछन्द र विकोइसँग गएको फागुन २२ गते सम्झौता भइसकेको छ । महानगरसँगको सम्झौता अनुसार यी तीन कम्पनीले आफ्नै लगानीमा भवन निर्माण गर्नेछन् । भवन निर्माण गर्न तीन अर्ब ५० करोड लाग्ने तिन कम्पनीले जनाएका छन् । भवन निर्माणपछि तिस बर्षसम्म कम्पनीले टावर सञ्चालन गर्न पाउनेछन् । भवन निर्माण शुरु गरेको पाँच वर्षभित्र सक्नुपर्ने हुन्छ ।

त्यसपछिको २५ वर्ष उनीहरुले भवन सञ्चालन गर्न पाउनेछन् । त्यसपछि मात्र टावर महानगरपालिकाको हुनेछ । जति चाडो निर्माण हुन्छ, त्यति नै कम्पनीलाई फाइदा हुने भएकाले पनि भवन चाडै बन्ने देखिन्छ । यस अघि टावर निर्माण टेण्डरको कागजात मै संकास्पद देखिएपछि अख्तियारले छानबिन गरेको समाचार आएपनि आफूलाई त्यो बारेमा कुनै जानकारी नआएको भन्दै प्रमुख कार्यकारी अधिकृत तामाङले भन्नुभयो ‘समाचार त जे पनि आउँछन् के पत्याउने के नपत्याउने ।’

महानगरपालिका र तीन कम्पनीको सम्झौताअनुसार भवन सुविधा सम्पन्न, नेपाली कला संस्कृति झल्कने र भूकम्प प्रतिरोधी हुनुपर्ने छ । भवनको सबैभन्दा अन्तिम तलामा ठूला गाडी पार्किङको व्यवस्था हुनेछ भने त्यो भन्दा माथिल्लो दुई तलामा साना गाडी पार्किङ हुनेछन् ।

टावरको वरपर बगैंचा, खेल्ने र मनोरञ्जनका समानले सजिसजाउ हुनुपर्ने हुन्छ । टावर नेपालमा बनेका अहिलेका भवनभन्दा भिन्न र आर्कषक हुनुपर्ने हुन्छ । टावर निर्माणका लागि २३ रोपनी ५ आना जग्गा चाहिने महानगरपालिकाले जनाएको छ ।

सुविधासम्पन्न यो भवनमा सिनेमा हल स्वमिङ पुल, रेष्टुरेन्ट, बैंक सपिङ सेन्टर र महानगरपालिकाको वडा कार्यलय समेत रहने प्रमुख कार्यकारी अधिकृत तामाङले बताउनुभयो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !