२५ बैशाख २०८१, मंगलबार

मुख्यमन्त्री शाहीद्वारा अत्यावश्यक बाहेकका भेटघाट बन्द


Mahendra Bahadur shahi

सुर्खेत, १० चैत्र । कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले अति जरुरी बाहेकका भेटघाट आजबाट बन्द गर्नुभएको छ ।कोरोना भाइरसको सङ्क्रमण जोखिम कम गर्न मुख्यमन्त्री शाहीले अत्यावश्यकबाहेकका भेटघाट बन्द गर्नुभएको उहाँका राजनीतिक सल्लाहकार भीमप्रकाश शर्माले जानकारी दिनुभयो । मुख्यमन्त्री शाहीले कोरोना भाइरसले निम्त्याएको सङ्कटको समाधानका लागि उच्च सावधानी अपनाउन सर्वसाधारण नागरिकलाई आग्रह गर्नुभएको सल्लाहकार शर्माले बताउनुभयो ।

मुख्यमन्त्री शाहीले स्वास्थ्य निर्देशिकाको अनिवार्यरूपमा दायित्व सम्झेर पालना गर्न र उच्च सतर्कता अपनाउन आग्रह गर्नुभएको छ । सङ्क्रमणबाट जोगिन प्रत्येक नागरिक आफैँले उच्च सावधानी अपनाउन, अनावश्यक हिँड्डुल, भेटघाट तथा सम्पर्क नगर्न, भीडभाड तथा बजारमा नजान र स्वास्थ्यकर्मीले दिएको सुझाव अवलम्बन गर्नसमेत उहाँले सुझाउनुभएको छ ।

कोरोना भाइरसको रोकथाम र नियन्त्रणका लागि प्रदेश सरकार गम्भीरताका साथ लागिरहेकाले अनावश्यक हल्लाको पछि नलाग्न र त्रसित नहुन पनि मुख्यमन्त्री शाहीले अनुरोध गनुर्भएको छ । “यो विषम परिस्थितिको सामना गर्न मुख्यमन्त्री र प्रदेश सरकार नागरिकको साथमा छ”, सल्लाहकार शर्माले भन्नुभयो । कोरोनाको सङ्कट समाधान गर्न सरकारले थालेको प्रतिकार्य योजनालाई साथ दिन मुख्यमन्त्री शाहीले सरकारका आधिकारिक निकाय, स्वास्थ्य संस्था, सुरक्षा निकायको निर्देशनलाई पालना गरी सहयोग गर्न सबै नागरिकलाई अनुरोध गर्नुभएको जनाइएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !