५ जेष्ठ २०८१, शनिबार

एल साल्भाडोरको संविधानसभा र संविधान निर्माण प्रक्रिया


एल साल्भाडोरको संविधानसभा

पृष्ठभूमि : सन् १५२५ देखि स्पेनको नियन्त्रणमा रहेको एल साल्भाडोर सन् १८२१ मा सर्वप्रथम स्वतन्त्र भयो । सन् १८२४ मा ग्वाटेमाला, एलसाल्भाडोर, होन्डुरस, निकारागुवा, कोस्टारिकाले ‘मध्य अमेरिकी संघीय गणराज्य’ संघ निर्माण गरे । सन् १८३८ बाट एल साल्भाडोरले आफू पूर्ण स्वतन्त्र रूपमा रहने निर्णय गर्यो ।

प्रसस्त कफी उत्पादन हुने एल साल्भाडोर जमिन्दार धनाढ्यहरूको जहानिया शासन र सेनाको शासनका कारण मानवअधिकार व्यापक उल्लंघन हुने मुलुकको रूपमा सदैव चिनिन पुग्यो । जनताको लोकतान्त्रिक पद्धतिको शासन व्यवस्था निर्माण गर्न गरेका धेरै पटकका प्रयासहरू असफल भई सैनिक शासनद्वार क्रुर र दमनकै चपेटामा एल साल्भाडोर रहन बाध्य भयो । सन् १९८० भन्दा पूर्व प्रायः सबै सेनाका अधिकृतहरू नै राष्ट्रपति बन्न पुगे ।

संविधान निर्माण प्रक्रिया

सन् १९८२ मा संविधानसभाबाट संविधान बनाउने निर्णय गरियो । जसअनुसार ६० जनाको प्रतिनिधित्व भएको संविधानसभा गठन गरियो । संविधानसभा गठनको मुख्य उद्देश्य राज्यमा लोकतान्त्रिक प्रतिनिधिमूलक सरकारको निर्माण गर्ने पद्धतिलाई अवलम्बन गर्ने भन्ने नै थियो । संविधानसभामा अनुदार पक्ष नै विजयी भएको संविधानसभाले सेना र वाह्य शक्तिको दवाव र प्रभावका काम गर्नुपर्ने अवस्था सिर्जना भयो । संविधान मस्यौदा गर्न संविधानसभाले सबै दलहरूको प्रतिनिधित्व भएको छुट्टै संविधान मस्यौदा समिति गठन गर्यो ।

संविधान मस्यौदा समितिले तयार गरेको मस्यौदा संविधानसभाको बैठकमा पेश भई अगष्ट, १९८३ देखि छलफल प्रारम्भ गरी सभाले डिसेम्बर, १९८३ मा संविधान स्वीकृत गर्यो । संविधानसभाले स्वीकृत गरेको संविधान २० डिसेम्बर,१९८३ देखि लागू भयो । एल साल्भाडोरको संविधान निर्माणमा संविधानसभामा बढी छलफल भएको विषय मोहीलाई जग्गा दिने सम्बन्धी कृषि सुधारको नीतिको प्रस्ताव नै मुख्य रूपमा रह्यो । तर सभाले कृषि सुधारको उक्त प्रस्तावलाई पारित गर्न भने सकेन ।

सेना र जहानिया शासनको चपेटामा परेको एल साल्भाडोरमा संविधकानले मानव अधिकार संरक्षणको विषयलाई बढी महत्व दिने उद्देश्य राखी व्यक्तिको अधिकारको सम्मान, गैरकानुनी थुना विरूद्धको सुरक्षा, गैरकानुनी खानतलासीइ विरूद्धको संरक्षण, गणतन्त्रात्मक बहुलवादी स्वरूपको सरकार, स्वतन्त्र न्यायपालिका जस्ता विभिन्न विषयहरूलाई संविधानमा स्वीकार्न पुग्यो । संविधानसभाबाट जारी भएको एल साल्भाडोरको सउंविधानले मुलुकको गृहयुद्धलाई रोक्न सकेन । मुलुकमा गुरिल्लायुद्ध भयो । १२ वर्षको गृहयुद्धपछि संयुक्त राष्ट्र संघको सक्रियतामा सन् १९९२ मा शान्ति सम्झौता भई गृहयुद्ध टुङ्गियो ।

सन्दर्भ सामाग्रीहरू

१. नेपालको दोस्रो संविधानसभा तथा ब्यबस्थापिका संसदका सदस्यहरू, गोपाल भण्डारी, माउन्ट एभरेष्ट हिमालय पब्लिकेशन, २०७२, मंसीर, काठमाडौं,  नेपाल ।

२. संविधानसभा र संवैधानिक विकास : विश्वको तुलनात्मक अध्ययन, काशीराज दाहाल, निरन्तर प्रकाशन, २०६३, काठमाडौं ।

३. संविधानसभा प्रकिया र अनुभवहरु, भिमार्जुन आचार्य, राष्ट्रिय शान्ति अभियान, २०६३ माघ, काठमाडौं, नेपाल ।

४. संविधान, संविधानबाद, संविधानसभा र राज्यको पुर्नसंरचना, चन्द्रकान्त ज्ञवाली, २०६३, जेठ, काठमाडौं, नेपाल ।

यो पनि पढ्नुहोस्

न्डोनेसियाको संविधानसभा र संविधान निर्माण प्रक्रिया

लिथुवानियाको संविधानसभा र संविधान निर्माण प्रक्रिया

नर्वेको संविधानसभा र संविधान निर्माण प्रक्रिया

बिश्वमा भएका संविधान सभाका दृष्टान्तहरु


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !