१२ बैशाख २०८१, बुधबार

बिश्वमा भएका संविधान सभाका दृष्टान्तहरु


बिश्वमा भएका संविधान सभाका दृष्टान्तहरु

संविधान सभाद्वारा संविधान निर्माण गर्ने प्रक्रियालाई लोकतान्त्रिक मानिएपनि विश्वका कतिपय मुलुकमा संविधान सभाले बनाएको संविधान सफल र असफल भएका दुवै उदाहरणहरु छन् । संविधान सभाको निर्वाचनबाट संविधान बनाउने प्रयास थुप्रै देशहरुमा भएका पाईन्छन् । संसारमा संविधान सभाको प्रयोगका साथै यसको सफलता वा असफलताका धेरै उदाहरणहरु छन् ।

संविधान सभाबाट संविधान निर्माण गरेका अधिकांश देशले जारी गर्ने अन्तिम घडीमा ठूलै विरोध र संकट सामना गरेको इतिहास छ । संविधान सभाहरूको विश्व इतिहास हेर्दा लगभग ८५ प्रतिशत संविधानसभा असफल भएका छन् । अधिकांश मुलुकमा संविधान सभाको निर्वाचन भएपनि असफल भएको दृष्टान्त उत्तिकै देखिन्छन् ।

फ्रान्स, जर्मनी, रसिया, पाकिस्तान लगायत देशमा संविधान सभा असफल भएको थियो भने दक्षिण अफ्रिका, इटाली, भारत, नर्वे, आयरल्याण्ड लगायतका देशमा सन् १९९० को दशकपछि संविधान सभा सफल भएर लोकतान्त्रिक संविधान बनेको थियो । विश्वमा धेरै मुलुकमा संविधान सभाद्वारा संविधान निर्माण गर्ने प्रयत्न गरिएपनि असफल हुनुको पछाडि संविधानको अवधारणाको अस्पष्टता, नागरिक शिक्षाको अभाव, सङ्क्रमण कालको उचित व्यवस्थापनको अभाव र अपार जनआकाङ्क्षा एवं संविधान सभाको बनावट बीच सन्तुलनको अभाव प्रमुख कारण रहेको थियो ।

कुनै संविधान आज पनि जीवन्त छन् भने कुनै संविधान जलाउने, च्यात्ने र विखण्डन भएका समेत उदाहरण भएकोले विवेक सम्मत ढंगबाट संविधान बनाइयो भने मात्र यसले जीवन्ता प्रदान गर्न सक्दछ । हालसम्म काम गरिरहेको अमेरिकाको संविधानले पूर्ण रूप लिनलाई २७ औं पटक संशोधन समेत गर्नुपरेको छ ।

नर्वे, अमेरिका, भारत, इटाली र दक्षिण अफ्रिका संविधान सभा मार्फत बनेको संविधानले द्वन्द्व समाधान मात्रै नभएर दिगो शान्ति समेत ल्याएको छ । तर, फ्रान्स, रुस, पाकिस्तान, श्रीलंकामा र केन्यामा संविधान सभाले संविधान दिन सकेन बरु द्वन्द मात्रै बढायो । कैयौ मुलुकमा संविधान सभापछि द्वन्द्व झन् चर्किएको उदाहरण छ । सन् १९८२ को संविधान सभापछि अल् साल्भाडोरमा, सन् १९८७ को संविधानसभापछि हैटीमा र सन् १९९८ को संविधान सभापछि युगाण्डामा द्वन्द झन बढेको उदाहरण छ ।

उता दक्षिण अफिकामा नेल्सन मण्डेलाको कुशल नेतृत्व क्षमताका कारण संविधान सभाबाट बनाईएको संविधान विश्वकै उदाहरणीय रुपमा लिइन्छ । भारतको इतिहासमा भने संविधान सभाबाट संविधान बनाउँदा मुलुक नै टुक्रन पुगेको नमिठो इतिहास साक्षी छ । संविधान सभाको लक्ष्य प्रस्ट नहुँदा सन् १९४६ मा भारतमा मुस्लिम लिगले पाकिस्तानको माग गरेपछि भारत टुक्रिएको थियो । संविधान सभाबाट संविधान बन्दै गर्दा पाकिस्तान र बङ्गलादेश अलग राष्ट्रहरु बनेको इतिहास हाम्रो अगाडि छ ।

विभिन्न राजनीतिक खिचातानीले गर्दा सम्पन्न र विपन्न राष्ट्रहरुमा पनि संविधान नै नलेखी संविधान सभा विफल भएका उदाहरणहरु पनि भेटिन्छन् । रुसमा सन् १९१७ सम्पन्न संविधान सभाको निर्वाचनले त्यस देशलाई संविधान नै नदिईकन विफल भएको थियो । तत्कालीन समयमा प्रथम विश्वयुद्धको प्रभाव, कम्युनिष्टहरुले निर्वाचनलाई अप्रजातन्त्रिक मान्नु र मजदुर किसानको मत नखसेको भन्दै रुसको संविधान सभाको अन्त्य भएको थियो । त्यहाँ संविधान सभाको पहिलो बैठकको भोलिपल्ट नै संविधान सभाको अन्त्य भएको थियो । रुसमा सन् १९१८ मा संविधानसभा गठन भएपनि त्यसले संविधान जारी असमर्थ भयो । रुसको संविधान सभा पटक-पटक असफल भएको उदाहारण छ ।

त्यस्तै कोलम्बियामा पनि सन् १९९१ मा संविधान सभाको विघटन भएको थियो । त्यहाँ विश्वभरका संविधानका मूलभूत विषय राखि सरकारले नँया संविधानको खाका तयार पारेको थियो । तर पनि मतदानमा कम मतदाताको सहभागिताले गर्दा विभिन्न क्षेत्रका जनताको प्रतिनिधित्व कम भएकाले विवाद सुरु भयो । त्यही विवादले गर्दा त्यहाँको संविधान सभाले पनि विघटनको नियति भोग्नु पर्यो । सन् १९८२ को संविधान सभापछि अल् साल्भाडोरमा, सन् १९८७ को संविधानसभापछि हैटीमा र सन् १९९८ को संविधान सभापछि युगाण्डामा द्वन्द झन बढेको उदाहरण छ ।

त्यस्तै फ्रान्समा १८४८ मा, ट्युनिसियामा २०११ मा, ईजिप्टमा २०१२ मा र लिबियामा २०१३ मा पनि संविधान सभाले संविधान लेख्ने प्रयास असफल भएका थिए । कतिपय अवस्थामा लिखित संविधानका बारेमा सोच्दै नसोची पनि उत्कृष्ट शासन व्यवस्था चलाइएका दृष्टान्तहरु पनि छन् । यस्ता कतिपय संविधान सभाहरु भइरहेको संविधानलाई संशोधन गर्ने सम्मको उद्देश्यले मात्रै आयोजना गरिएको उदाहरणहरु पनि पाइन्छन् । विश्वका सफल र असफल संविधान सभाको उदाहरण अगाडि यसपालि पनि हाम्रो संविधान सभाको निर्वाचनले विरोधको सामना गर्नु परेको छ ।

दक्षिण अफिकामा नेल्सन मण्डेलाको कुशल नेतृत्व क्षमताका कारण संविधानसभाबाट बनाईएको संविधान विश्वकै उदाहरणीय रुपमा लिइन्छ । दक्षिण अफ्रिकामा सन् १९९३ मा अन्तरिम संविधान बनाएर १९९४ मा संविधान सभाको निर्वाचन गरियो । गोरा जातिको शासनमा दबिएका काला जातिको समान हकका लागि भएको आन्दोलनले नँया संविधानले मात्र उनीहरुलाई अधिकार दिलाउने भएकाले संविधान सभाको बाटो रोज्यो ।

नेपालमा जस्तै त्यहाँ पनि २ बर्ष भित्र संविधान जारी गर्नुपर्ने अन्तरिम संविधानमा प्रावधान बनाईएको थियो । संविधानका केही विषयमा संविधान सभामा जानु अघि नै कुरा मिलाईए पनि मूलभूत विषयमा त्रुटि भएको भन्दै संवैधानिक अदालतले २ बर्षभित्र संविधान पारित गर्न दिएको थिएन । त्यसैले १९९६ मा भित्र बन्नुपर्ने संविधान दक्षिण अफ्रिकेली जनताले १९९८ मा मात्र पाएका थिए ।

नर्वे, अमेरिका, भारत, इटाली र दक्षिण अफ्रिका संविधानसभा मार्फत बनेको संविधानले द्वन्द्व समाधान मात्रै नभएर दिगो शान्ति समेत ल्याएको छ । त्यस्तै नर्वेमा १८१४ मा, डेनमार्कमा १८४८ मा, लाटिभियामा १९२० मा, ग्वाटेमालामा १९३५ मा , ईटालीमा १९४६ मा, बहराईनमा १९७२ मा, अल्बानियामा १९९१ मा पनि दक्षिण अफ्रिका जस्तै संविधान सभाको निर्वाचन भएका थिए र संविधान बनाउन सफल भएका थिए । यी देशहरु मध्ये ग्वाटेमालामा भने संविधान जारी हुन भने ८ बर्ष लागेको थियो ।

कतिपय देशमा संविधानसभाले बनाएकै संविधान पनि स्थायी भएनन, पटक-पटक संविधानसभाको निर्वाचन भएको छ । जस्तैः फ्रान्स, मेक्सिको, पेरु, इष्टोनिया, दक्षिण अफ्रिका लगायत अन्य मुलुकहरू । १७८९ मा राज्य क्रान्तिमा होमिएको फ्रान्सले परिवर्तनलाई संस्थागत गर्न त्यसको दुई वर्ष अगाडिमात्र घोषणा गरिएको अमेरिकाको संविधानका मूल आधार र त्यसलाई निर्माण गर्ने संविधानसभाकै संरचनालाई सापटी लिएर १७९१ मा पहिलो संविधान निर्माण गरे पनि त्यो राजतन्त्रवादी, सुधारवादी र उग्रवादी शक्तिहरूका लागि नै अस्विकार्य भयो, जसको कारण फ्रान्स केही वर्ष आन्तरिक द्वन्द्व, राजनीतिक अस्थिरता र अराजकतामा पिल्सियो । अस्थिरता र अराजकताबीच १७९१–१७९९ मा मात्रै फ्रान्समा दुईवटा संविधानसभा र चारवटा संविधान बने । यसपछि १९५८ को चौथो गणतन्त्रमा आइपुग्दा फ्रान्समा अरु पाँचवटा संविधान बने ।

दुई भिन्न कालखण्डमा छुट्टाछुट्टै संविधान सभाको निर्वाचन गरिएका देशहरु पनि थुप्रै रहेका छन् । जस्तो कि पोर्चगलमा सन् १९११ मा सम्पन्न संविधान सभा निर्वाचनले संविधान बनाउन सफल भएको थियो । तर कालान्तरमा फेरि पोर्चुगलमा १९७४ मा अर्को संविधान सभा निर्वाचन भएको थियो । पोर्चुगल जस्तै होन्डुरसमा १९३६ र १९८० मा, कम्बोडियामा १९४६ र १९९३ मा, भेनेजुयलामा १९४६ र १९९९ मा संविधान सभाको निर्वाचन भएका थिए । यस्तै सिरियामा १९४९ सम्पन्न संविधान सभाले संविधान बनाएको थियो । तर अहिले सिरियामा चलिरहेको द्धन्द्धका कारण त्यस समयमा बनेको संविधान नै धरापमा परेको छ । त्यसैले संविधानसभाबाट संविधान बनाँउदैमा त्यो सफल हुन्छ भन्ने छैन । संविधानसभाबाट संविधान नलेखेरै पनि संसारमा धेरै मुलुकहरुले उत्कृष्ट संविधानहरु निर्माण भएका छन् ।

पाकिस्तानमा १९४६ को डिसेम्बरमा संविधानसभाको गठन भएदेखि १९५४ अर्थात् ८ वर्षसम्म संविधान बनेन । त्यहाँ १९५१ को अक्टोबरमा संविधानको मस्यौदा पेस गर्ने तयारी गर्दैगर्दा पहिलो प्रधानमन्त्री लियाकत खानको हत्या भयो । संविधानको मस्यौदालाई पूर्णता दिँदै गर्दा १९५५ मा राष्ट्रपतिले संविधानसभा नै विघटन गरे । त्यो निर्णयको विरुद्ध परेको रिट प्रादेशिक अदालतले जितायो, तर सर्वोच्चले हराइदियो । राष्ट्रपतिको घोषणाको आधारमा १९५५ मा प्रादेशिक सभाबाट नयाँ संविधानसभा गठन गरियो । त्यसको एक वर्षपछि अर्थात् मार्च १९५६ मा संविधान जारी गरियो । तर त्यो संविधान पनि दुई वर्षपछि राष्ट्रपतिले खारेज गरे र सैन्य शासन लागु गरे ।

अतः अलिकति संयम र विवेक पुर्याउन सकिएन भने संविधानसभाले बनाएको संविधानले राष्ट्रको विघटन र अस्थिरता जन्माउन सक्ने त्यतिकै पीडादायी दुःखद समय जन्माउन सक्दछ भने विवेकपूर्ण तथा बुद्धिमतापूर्ण तवरले संविधान निर्माण गर्दा ब्रिटिस साम्राज्यवादीको रूपमा रहेका अंग्रेजलाई हटाएर अमेरिका र भारतले स्वतन्त्रतापूर्वक आफैंले शासन व्यवस्था चलाएको ज्वलन्त उदाहरण छन् ।

*गोपाल भण्डारी नेपालपत्रका प्रधान-सम्पादक हुनुहुन्छ ।

यो पनि पढ्नुहोस् 

नेपालको आधुनिक संवैधानिक विकासक्रम

नेपालको कानूनी इतिहास

नेपालको संवैधानिक इतिहास

नेपालको संविधान २०७२ का विशेषताहरु


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !