४ फाल्गुन २०८२, सोमबार

जेनजी, रवि, हर्क, बालेन र आम परिवर्तनगामी देशवासीहरुलाई खुला पत्र


जेनजी, रवि, हर्क, बालेन र वीरेन्द्र

सार्वजनिक पत्र

प्रिय जेनजी, रवि, हर्क, बालेन र सम्पूर्ण परिवर्तनगामी देशवासीहरू,

गत भदौ २३-२४ को आन्दोलनपछि नेपाली राजनीति निर्णायक मोडमा पुगेको छ । अहिलेसम्म ७४ जना वीरले सहादत प्राप्त गरिसकेका छन्, सयौं घाइतेहरु अझै उपचारको याचनामा छन् । आन्दोलनका घाइतेहरुमध्ये कसैको घाउमा किरा परेको सुनिएको छ, कतै औषधि किन्न नसक्ने दयनीय अवस्थामा छन् । मुलुकको दुर्दशालाई खप्न नसकेर छाती र टाउकोमा नै अविचलित भई गोली थाप्न रत्तिभर पछि नपरेकाहरुको आहुतिलाई बेवास्ता गर्दै सत्ताको खेल चलिरहेको देख्दा प्रत्येक नेपालीको आत्मा रोइरहेको छ ।

धेरै मनकारी नेपालीले आ-आफ्नो ठाउँबाट आन्दोलनका घाइतेलाई सक्दो सहयोग गरेका छन् भने, ए.. कान्छा, ए .. कान्छी भन्दै अत्यन्तै प्रेमिल भावमा लुगा, खानाको साथै आर्थिक सहयोगको साथमा हरेक घाइते भेट्न अस्पताल र सहिद परिवारको घरमा समेत पुगेकी समाजसेवी आशिका तामाङलाई देख्दा छाती फुलेर चौडा हुन्छ ।

हिजोको भ्रष्टाचार, बेथिति र उदासीनताको बाटोमा हिँड्ने दलहरूलाई जस्तै यो अन्तरिम सरकार र अब निर्वाचन पश्चात बन्ने सरकारलाई छुट छैन तर कथमकदाचित त्यस्तो भए ? नागरिकले यो अन्तरिम सरकारलाई समेत माफ गर्ने नै छैनन् । अन्तरिम सरकारले निर्वाचनको मिति तय गरिसकेको छ । भटाभट आ-आफ्नो दल दर्ता गरी बाइसे चौबिसे राज्य निर्माण उन्मुख नयाँ शक्तिहरु देखिन्छन । नयाँ परिवर्तनकारी शक्ति एक नहुञ्जेल मुलुकले निकास पाउन सक्दैन भन्ने हेक्का समेत नहुने र आफुङ्गी राजा बन्ने तयारीमा रहेकाहरुको आ-आफ्नै पदचाप, आ-आफ्नै हुङ्कारमा व्यस्त देखिँदा यो देशको भविष्य फेरि अन्धकारमा धकेलिन सक्ने खतरा बढेको छ ।

यस घडीमा नेपाल आमाले मागेको कुरा स्पष्ट छ-एकता, सहानुभूति र निष्कपट नेतृत्व । जनताले अझै पनि रवि र उनको दलमा सबैलाई सम्मान गर्ने, सबैसँग मिल्ने सामर्थ्य देखेका छन् । तर त्यो सामर्थ्य एक्लैले पुग्दैन । जेनजी, हर्क, बालेन-लगायत तमाम परिवर्तनगामीहरू सबैले सँगसँगै उभिनुपर्ने घडी आएको छ ।

नेपालमा जहिले व्यवस्था र शासकिय परिवर्तनको अभ्यास मात्र गरिरहयौं तर इमानदारी र नैतिकता अभावको को कारण र मुख्यतः विधिको शासन नभएर मुलुक हारिरहेको र भ्रष्टहरुले जितिरहेको अवस्थालाई चिर्न यसपाली भ्रष्टाचारीलाई नामेट पार्दै, राजनीतिलाई विशुद्ध समाजसेवा मात्र हो भन्ने मानक स्थापना गर्ने गराउने सुनौलो अवसर नेपालको इतिहासले प्राप्त गरेको छ । अन्तरिम शासनकाल धेरै लामो नबनाई यो मन्त्रिमण्डलको गठन र प्रतिनिधिसभा विघटनको नजिरबाटै प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीको छनौट यसै निर्वाचन सगै गराउनु छ । प्रदेशसभाको खारेजी गरी संघीयताको मर्मलाई कायम राख्न प्रदेशको मुख्यमन्त्रीको समेत प्रत्यक्ष निर्वाचन गराउनु छ । लामो समयदेखि राजनीतिक प्रतिसोधको कारण जेल जीवन बिताइरहेका रविलाई चाँडो निष्पक्ष पुर्पक्षमा राखी सत्य बाहिर ल्याउन जरुरी छ । यदि निर्दोष छन् भने तत्काल राजनीतिमा फर्काउनुपर्छ किनभने अब नेपाल आमालाई निस्कपट, पारदर्शी र साहसी “रवि जस्तै” राजनीतिज्ञको खाँचो छ ।

तमाम देशवासीहरु : मैले यो पत्रमा भदौ २३-२४ को आन्दोलन दबाउन आदेश दिनेहरु, आम नेपालीको रगत पसिनाको हकमाथि भ्रष्टाचार गर्ने कुख्यात अपराधीहरु, डर-त्रासको आडमा बर्षौंदेखि सत्तामा बसि रजगज गर्ने र यी अपराधीहरुको मतियार भई यिनीहरुलाई उक्साएर आफ्नो राजनीति र राजनीतिक पेशा गर्नेहरुको बारेमा यो पत्रमा केही उल्लेख गरेको छैन । यी दुष्टात्मालाई के गर्नुपर्छ ? हामी सबैलाई थाहा छ । केवल अन्तरिम सरकारको कुर्सीमा बस्नेहरु के गर्दैछन ? जेनजी र आम राष्ट्रभक्त नेपालीहरु खवरदारीमा जुटिरहनु छ ।

तमाम देशवासीहरू—शहीदको रगत र घाइतेको पीडा व्यर्थ नहोस् भन्ने कामना गरिरहेका छन् । यदि नयाँ पुस्ता र नयाँ शक्तिहरू अझै पनि फुटे, घमण्डमा अल्झिए भने इतिहासले माफ गर्ने छैन ।

नेपाल आमाको घाउ निको पार्ने एक मात्र बाटो भनेकै सबै परिवर्तनगामी शक्तिहरूको एकता र जनताको घाउ-दुखाइप्रति संवेदनशील राजनीति हो । यही बाटोले मात्र समुन्नत र समृद्ध नेपाल बनाउने छ ।

भवदीय,
ई. वीरेन्द्र श्रेष्ठ, ताप्लेजुङ

यो पनि पढ्नुहोस्

युवा राजनीतिक युगको स्वागतमा नेपाल

ब्रह्माण्ड, प्रकृति र चैतन्यका अन्तरभावहरु

जलवायु परिवर्तनको चपेटामा नेपाल : चुनौती, सचेतना र यसका समाधानका उपायहरु

भानु स्कुललाई फर्केर हेर्दा

के नेपालले सन् २०३५ सम्ममा २८५०० मेगावाट विद्युत् उत्पादन गर्न सक्छ ?

सिरिजंघा, तपाईं अनि म

पृथ्वी जयन्ती र क्रान्तिको सार

ताप्लेजुङको विकासको लागि इन्जिनियर वीरेन्द्रले देखे यस्तो सपना

नेपालका राजनीतिक दलको बिरासत अनि आजको आवश्यकता

नेपालका राजनीतिक दलप्रति जनताको दृष्टिकोण

प्राकृतिक विपद् र नेपालको अवस्था

आकाशिँदो मूल्यवृद्धि भित्रका शालिन नेपाली जनता

स्थानीय निर्वाचनप्रति नागरिकको झुकाव र हाम्रो आवश्यकता

स्थानीय निर्वाचन क्रान्तिको बिगुल कि रोजाइको जनप्रतिनिधि


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !