३० कार्तिक २०८१, शुक्रबार

हामी जहाँको तहीँ, बङ्गलादेश किन सफल र समृद्ध ?


नेपाल र बङ्गलादेश

१. केही वर्ष अघिसम्म संसारको सवैभन्दा गरीव मुलुक थियो बङ्गलादेश I
सवै आधारमा सम्भावनाहीन तर स्वतन्त्र राष्ट्र !
कसरी बाँच्ला ? यौटा त्राषद जिज्ञासा बोकेको मुलुक ।
तर आज दक्षिण एसियाको धनी राष्ट्र बनेको छ ।
तीब्र विकास दरमा विश्वको अग्रणी मानिन्छ ।
प्रतिव्यक्ति आयको आधारमा भारत, पाकिस्तान, भुटान, नेपाल, अफगानिस्तान भन्दा धनी ।

२. करीव ५० वर्ष अघि सन् १९७१ मा पूर्वी पाकिस्तानको रूपमा पाकिस्तानबाट स्वतन्त्र हुँदा नियमित बाढी र अनिकालले जर्जर थियो त्यो मुलुक ।
धेरै वर्षसम्म त्यो क्रम रहिरह्यो ।
नेपालले समेत बारम्बार अन्न, लुगापातको सहयोग गर्थ्यो ।
चामल बेच्थ्यो – भारत र बङ्गलादेशलाई ।
अमेरिकी सुरक्षा सल्लाहकार र विदेश मन्त्री हेनरी किसिन्जरले बंगलादेशलाई भिख मंगाको देश र माग्नेको कतारो भन्थे !
स्वतन्त्र हुँदा आफ्नो पश्चिमी भाग ( पाकिस्तान ) भन्दा ७० गुणा गरीव थियो बङ्गलादेश आज पाकिस्तान भन्दा ४५ गुणा धनी छ ।
प्रतिव्यक्ति आयको आधारमा आज पाकिस्तानको प्रतिव्यक्ति आय १,५४३ डलर छ तर बङ्गलादेशको २.२२७ डलर ।
भारतको १.९४७ र नेपालको केवल १.२३५ डलर ।

३. अमेरिकाले गरीव मुलुकहरूको अर्थतन्त्र सुधार्न भनेर दक्षिण एसियाका मुलुकलाई तयारी पोशाक निर्यातको सुविधा उपलव्ध गरायो ।
त्यो सुविधा नेपाललाई पनि दियो र बङ्गलादेशलाई पनि !
त्यही सुविधालाई राम्रो उपयोग गर्दै आज बङ्गलादेश संसारमा चीनपछिको दोस्रो ठूलो तयारी कपडा उत्पादक र निर्यातक राष्ट्र बनेको छ ।
संसारको हरेक मुलुकका कपडा पसलहरू आज मेड इन बङ्गलादेश लेखिएका रेडिमेड कपडाबाट भरिएका हुन्छन् ।
स्वतन्त्र हुँदा एउटा पनि ठूलो उद्योग थिएन बङ्गलादेशमा आज औद्योगिक राष्ट्र बनिसक्यो ।
दर्जनौ अन्तर्राष्ट्रिय ब्रान्डका सामान उत्पादन गर्दछ बङ्गलादेशले ।
नेपालले गत वर्ष रासायनिक मल पैँचोमा माग्यो ,
पत्याएन बङ्गलादेशले हामीलाई ।
इलमीलाई पो पत्याउँछन दुनियाले ।

४. १९६०मा हाम्रो प्रतिव्यक्ति आय ५० डलर आसपास थियो ।
आज १२३५ ।
१९६० देखि सन् २००० सम्म हाम्रो प्रति व्यक्ति आयमा खासै वृद्धि भएन,
१९६० मा ५० डलर र त्यसको ४० वर्ष पछि सन् २००० मा मात्र २२९ डलर ।
१९६० मा नेपाल, दक्षिण कोरिया, ताइवान, मलेसिया, सिङ्गापुर, थाइल्याण्ड सवै झन्डै बराबरी हैसियतका मुलुक ।
त्यसो भन्दा आज बौलाहा कुरा लाग्न सक्छ कसैलाई ।
तर यथार्थ हो यो ।

५. जुन अवधिमा दक्षिण कोरिया, ताइवान, सिङ्गापुर, मलेसियाहरू समृद्धिको यात्रामा एक पछि अर्को फड्को मारेर विश्वकै समृद्ध मुलुकको स्थान आर्जन गरिरहेका थिए – त्यतिखेर नेपालमा राजाहरू शासन गर्थे ।
राजाहरूको प्रतक्ष शासनको ३० बर्षे अवधिमा नेपालको प्रतिव्यक्ति आयमा चार दोब्बर पनि वृद्धि भएन,
अर्थात् ५० डलर बाट मात्र १९२ डलर नजिक !
३० वर्ष अघिको डलरको क्रय शक्ति अर्थात् त्यतिखेरको मूल्यको तुलनामा ३० वर्ष पछिको मूल्यमा त्यो अङ्क कुनै वृद्धि नै होइन ।
जसले जे भने पनि राजाहरू र पंचायतको शासनले देशलाई सुख, सम्मान र समृद्धि नदिएकै हो ।

६. पंचायतको अन्त्यताकाको १९२ डलर आजको मितिमा अर्थात अर्को ३० वर्षमा १२३५ डलर हुँदा त्यो वृद्धि ६ दोब्बर भन्दा केही बढी भयो ।
पंचायतको तुलनामा बहुदलीय व्यवस्थाले बढी समृद्धि दिएको छ !
विकासको गति बढेको हो ।
तर बङ्गलादेशले जति,भारतले जाति किन गर्न सकेनौ ?
फेरी सन् १९९० ताकाको १९२ डलर र सन् २०२१को १२३५ डलरको मूल्य अर्थात् क्रय शक्तिको आधारमा त्यो कति बढी हो विज्ञले सुझाउन् ।

७. भ्रष्टाचार बङ्गलादेशमा पनि हुन्छ ।
घुस खोरी ज्यादै हुन्छ ।
चुनाबमा हुने हिंसा अझ बढी ।
राजनीतिक असहिष्णुताको स्तर पनि नेपालमा भन्दा बढी ।
राजनीतिमा भारतको दवाव,प्रभाव, हस्तक्षेप, हैकम सवै छ, चीनको पनि छ ।
अमेरिका र इरान, साउदी अरव सबैको छ ।
चुनावमा विदेशी मुलुकले पैसाको खोलो बगाइदिन्छन ।

८. तर त्यहाँ कानुनले शासन गर्दछ ।
कानुनी संरचनाहरू बलिया छन् ।
अदालत बलियो छ – त्यहाँ फैसला न्यायाधीशले नै गर्छन् !
दण्डहीनता न्यून छ ।
नीतिगत भ्रष्टाचार विरलै हुन्छ ।
नेपालमा माओवादीले जस्तो सङ्गठित राजनीतिक हिंसा र विद्रोहलाई त्यहाँको देशभक्त सेनाले उठ्नै दिएन,
त्यसले विकासको गति अवरूद्ध हुन् पाएन ।
आन्तरिक र वाह्य लगानीकर्ताहरूको विश्वास सरकार र मुलुकको कानुनी र न्यायिक प्रणालीले आर्जन गरेको छ ।
त्यसैले व्यापक लगानीको वातावरण छ ।

९. २०१४को चुनाव मा बारम्बार सरकारको नेतृत्व गरेको बिएनपी लगायतका दलले चुनाव वहिष्कार गर्यो ।
व्यापक हिँसा माझ पनि राज्यले चुनाव गरायो,
चुनाव गराउने सामर्थ्य र इच्छा शक्ति देखायो !
अमेरिका लगायतका कतिपय मुलुकले विरोध गरे -उसले सुने नसुनेझैँ गर्यो ।
प्रमुख विपक्षी दलले वहिष्कार गरेको चुनाबबाट आएको सरकार पनि पुरै पाँच वर्ष चल्यो र २०१९मा अर्को चुनाव समेत गराउन सफल भयो — त्यो चुनावमा सवै सहभागी भए ।
अनि देश भित्र र बाहिरकालाई अनुभव भयो कि अब बङ्गलादेश राजनीतिक रूपमा स्थीर भयो ।
पछिल्लो पटक चीनियाँ राष्ट्रपतिको भ्रमणको अवशरमा उनले पाकिस्तान पछिको दोस्रो ठूलो ऋण अनुदान (२४ अर्व डलर ) बङ्गलादेशलाई उपलव्ध गराए ।
दुइ देशवीचको सीमा तथा भूभाग माथिको विवाद बंगलादेश कै हितमा हुने गरी समाधान गर्न भारत सहमत भयो ।
जापान, भारत, अमेरिका र अस्ट्रेलिया वीचको सैन्य अभ्यासमा बंगलादेशलाई संलग्न नहुन चीनले चेतावनी को भाषा के प्रयोग गरेको थियो बङ्गलादेशले झन् कडा शव्दमा चीनको त्यस्तो चेतावनी विरूद्ध वक्तव्य दियो ।
आफ्नो रक्षा र विदेश मामिलामा उसले आफैँ निर्णय गर्दछ ।
कोरोना महामारीकै वीचमा पनि बङ्गलादेशको सफलता र समृद्धिको यात्रा जारी रह्यो ।

१०. बुँदागत रूपमा बङ्गलादेशको सफलता पछाडिका कारक तत्वहरू
सरकारमाथि जन विश्वास ।
संविधान र राजनीतिक प्रणालीमाथिको जनविश्वास ।
बलियो कानुन, कानुनी संरचनाहरू ।
शाति सुरक्षाको राम्रो इन्तजाम ।
बलियो न्याय व्यवस्था ।
जिम्मेवार र अन्तर्राष्ट्रिय स्तरको मिडिया क्षेत्र !
जनतामा बलियो आधार भएका दलहरू, देश-विदेश राम्रो बुझेका, जनतामा र देश विदेशमा राम्रो पहिचान र प्रतिष्ठा आर्जन गरेका राजनीतिक नेतृत्वको ठूलो पंक्ति ।
उद्यमी र व्यवशायीलाई व्यापक वित्तीय अवशर, राज्य संरक्षण र प्रोत्साहन ।
गुणस्तरीय शिक्षा र स्वास्थ्य सुविधामा निरन्तर सुधार ।
श्रम सुरक्षा र सश्रम सुधार ।
भारत र अन्य छिमेकी तथा मित्र राष्ट्रहरूसंगको सम्वन्धमा स्थीरता र विश्वसनीयता ।
इमान्दार, स्वाभिमानी र देशभक्त उद्यमी समूह ।
उत्पादक क्षमता र श्रम संस्कृतीबाट सुसंस्कृत श्रमिक बर्ग र आफ्नो प्रतिष्ठान र श्रमिकप्रति इमान्दार र प्रतिवद्ध ट्रेड युनियनहरू ।

११. माथिका कसीहरूमा हामी कहाँ छौँ, आफैँ बुझौँ, आफैँ गुनौ !
हामी पछि पर्नुका कारण आफैँ प्रष्ट हुन्छन् ।

*केशव प्रसाद भट्टराई लेखक तथा राजनीतिक विश्लेषक हुन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !