१४ बैशाख २०८१, शुक्रबार

समुदाय संक्रमणको जोखिम बढ्यो, यस्तो रणनीति अबलम्बन गरौँ : डा. रवीन्द्र पाण्डे


समुदाय संक्रमण

काठमाडौँ, साउन १३ । केहि दिन सुस्ताएको कोरोना संक्रमितको ग्राफ आज एकाएक बढेको छ । परीक्षणको दर न्यून (करिब ५ हजार) भएपनि आज काठमाडौं उपत्याकामा ५३ जना (काठमाडौंमा ४८, ललितपुरमा ४ र भक्तपुरमा १ गरेर) नयाँ संक्रमितको पहिचान भएको छ । त्यति मात्र हैन काठमाडौं उपत्यका वरिपरिका अधिकांश जिल्लामा पनि केहि संक्रमितको पहिचान भएको छ । सरकारले कन्ट्याक्ट ट्रेसिंग तथा संबेदनशील स्थानहरुमा परीक्षणको गति बढाउने हो भने थप संक्रमितहरुको पहिचान हुनेछ ।

पछिल्लो समयमा तराइका बिभिन्न जिल्लामा कोरोना संक्रमण बढिरहेको अवस्थामा सुरक्षित हुनको लागि काठमाडौं उपत्याका प्रवेश गर्ने व्यक्तिहरुको संख्या उल्लेख्य रुपमा बढेको छ । यसले गर्दा काठमाडौं उपत्यका थप जोखिमयुक्त बनेको छ । ४० लाख जनसंख्या रहेको कचौरा जस्तो काठमाडौं उपत्याकामा कोरोना संक्रमण समुदायमा फैलियो भने हाम्रो स्वास्थ्य प्रणालीले धान्न सक्दैन । सरकारले आवागमनमा भएको फितलोपनलाई नियमन गर्नु जरुरी छ ।

त्यस्तै भारतसंग सिमा जोडिएको तराइ क्षेत्रमा परीक्षण निकै कम भएको छ । पहिले संक्रमणको चपेटामा परेका पहाडी क्षेत्र तथा अन्य सहरी क्षेत्रको परीक्षण दयनीय छ । यी क्षेत्रमा संक्रमण बढ्दो गतिमा देखिएको छ । सरकारले यी क्षेत्रका जनचेतना कम भएका बर्गमा परीक्षणलाई घनीभूत गराउने हो भने हामीले कल्पना गरेभन्दा अग्लो ग्राफ देखिनेछ । परीक्षणको दर जति बढायो, त्यति धेरै संक्रमितको पहिचान हुनेछ । जति धेरै संक्रमित पहिचान भयो त्यति धेरै समाज सुरक्षित हुन्छ, संक्रमण नियन्त्रण हुन्छ ।

सरकारले सिमा क्षेत्रमा सुरक्षाकर्मी तथा स्थानीय नागरिकको संयुक्त गस्ती बढाएर अबैध आवतजावतलाई नियन्त्रण गर्नु जरुरी छ । सिंगो देशमा ब्यापक परीक्षण गरेर रेड, एल्लो र ग्रीन जोन निर्क्यौल गर्ने हो भने कोरोना संक्रमण नियन्त्रण गर्ने रणनीति बनाउन धेरै सजिलो हुन्छ । यसो भयो भने रेड जोनलाई लकडाउन गर्ने वा आबश्यक परे कर्फ्यु लगाउने, एल्लो जोनमा कडाइ गर्ने तथा ग्रीन जोनमा जनस्वास्थ्यका मापदण्ड अपनाएर यातायात लगायतका गतिबिधि सुचारु गर्न सकिन्छ । रेड जोनमा आवतजावत नरोक्ने हो भने हाम्रो अवस्था अकल्पनीय हुनेछ ।

शैक्षिक संस्था, हवाइ यातायात, सार्वजनिक यातायात लगायतका सेवा सुबिधा खोल्नको लागि यी ३ बटा जोन निर्धारण गर्नु अपरिहार्य छ । त्यस्तै अन्तराष्ट्रिय उडान नेपालीलाई स्वदेश ल्याउने तथा नेपालमा अड्केक बिदेशी तथा नेपालीलाई अर्को ट्रान्जिटसम्म पुर्याउन बाहेक खोल्नु हुँदैन । अन्यथा भारत, बंगलादेश लगायतका देशबाट हजारौं संक्रमित आउने जोखिम रहन्छ ।

सरकारले हतार गरेर तथा बैज्ञानिक बिधि नअपनाएर हचुवाको भरमा सबै क्षेत्र खोल्यो भने ती क्षेत्र संचालन नहुने तथा जोखिम निकै बढ्ने दोहोरो खतरा हुनसक्छ । सरकारको अर्जुनदृष्टि कोरोना संक्रमण नियन्त्रण र नागरिकलाई राहत तथा सहुलियत दिनेतर्फ केन्द्रित हुनु जरुरी छ । सबै मन्त्रालय, प्रदेश सरकार र स्थानीय निकायले यो महामारीमा अत्यन्तै जिम्मेवार भएर तथा समन्वय गरेर काम गर्नु अपरिहार्य छ । चाडपर्वको लागि लाखौँ नेपाली स्वदेश आउने अनुमान गरेर अहिल्यै क्वारेन्टाइन तथा परीक्षणको चुस्त तयारी गर्नु जरुरी छ ।

संक्रमण निकै बढेमा चाहिने अक्सिजन, रगत, आइसीयु बेड, भेन्टिलेटर तथा दक्ष जनशक्ति तयारी अवस्थामा राख्नु पर्दछ । अन्तिम समयमा मात्र ब्युंझिने हाम्रो परिपाटी महामारीको समयमा घातक बन्न सक्छ । महामारी नियन्त्रण गर्नको लागि सरकार, मेडिया तथा आम नागरिकको एकता र संयुक्त प्रयास आवश्यक हुन्छ । यस्तो घडीमा हामीमा अन्तर्निहित बिमतिलाई थाति राखेर महामारीसंग संयुक्तरुपमा जुध्नु हामी सबैको कर्तब्य हो । एकताको शक्तिले नै हामीले यो महामारीलाई जित्न सक्छौं ।

*डा. रवीन्द्र पाण्डे, जनस्वास्थ्य बिज्ञ तथा शोधकर्ता हुनुहुन्छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु