१५ बैशाख २०८१, शनिबार

हो “बा” त्यो आकाश हुन्


bharat bhandari

त्यो हिरण्यगर्भदेखि ब्रम्हाण्डको सृष्टि हुँदै
निलो सगर, निलै सागर अनि त्यो भौतिक संसारको अवयवहरु
प्रतिबिम्बित हुँदै,

सृष्टिका अनेकन लौकिक अनि परलौकिक,
चेतन अनि अचेतन, सजीव अनि निर्जीव,

दृश्य अनि अदृश्य, ती सबै सबै
चिजहरुमा कल्पकल्पको शक्ति परावर्तन भैरहेको छ,
त्यो शक्ति हो “बिग ब्याँग्” यानेकी “बा” ।

हो “बा” त्यो शक्ति हुन् जो भोको पेटमा पनि हाँस्न सक्छन्,
उनी छैन भन्दैनन्, अभावमा पनि बाँच्न सक्छन्
उनमा अरु मृगतृष्णा केही छैन,

केवल त्यो सन्तानको एक मुठ्ठी हाँसो
त्यहि सन्तानको अविरल खुसी, बस्!

धर्ती र आकाशमा त्यहि फरक छ,

धर्ती अडिग छ, तर आकाश परिस्थितिअनुसार बदलिन्छ,
हो “बा” त्यहि आकाश हुन् जो
रङ्गमन्चको पात्र झैँ,

भित्रभित्रै पीडाहरुलाई कुहाएर हाँसिदिन्छन्,
दर्दहरुलाई लुकाएर बाँचिदिन्छन्,
केही नभए पनि सबै चिज भएजस्तो,
सबै सिद्दिए पनि साथै रहेजस्तो,
भोकले सुकी सक्दा पनि टन्न अगाएजस्तो,
तिर्खा, निन्द्रा, ताप्, चाप,
दुख, पीडा सब सब सहन सक्ने,
केबल सन्तानका लागि,
हो “बा” त्यहि आकाश हुन् संसार ढाक्न सक्ने त्यो आकाश !!

दिनभरिको थकाईलाई निधारको पसिनाले बगाएर,
त्यो सहश्रकोटी पौरखलाई सहश्रसुखमा परिणत गर्न शक्ने
सुर्यको तापभन्दा कडा, चन्द्रमाको प्रकाशभन्दा शान्त,
आगोभन्दा तातो, हिँउँभन्दा चिसो अनि
समुद्रजस्तो गहिरो, आकाशजस्तो स्वच्छ,
न आँधिको डर, न हुरिको डर, न घाम न पानी
सहश्र सहन सक्छन् “बा”,
हो “बा” त्यही आकाश हुन् धर्ती पुरा ढाक्ने आकाश !!

भगवान् शिवजस्तो अरु बचाउन
कालकुट विष सेवन गर्न सक्ने,
मैले सुनेको ब्रम्हा, विष्णु, शिव
या तेत्तिस कोटी देवता

यी सबैका आकृती देखिन्छ “बा”को त्यो रुपमा
हो!! “बा” त्यो आकाश हुन्,
धर्ती ढाक्ने आकाश ।

 


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !