२१ बैशाख २०८१, शुक्रबार

लामखुट्टेहरू


Mosquito

लामखुट्टेहरू रगत चुसिरहेछन्

निर्दोष मानिसहरूका

परजीवी हुनुको लक्षण

वर्षौँदेखी देखाउँदै आएका छन्

 

बिगो गर्नेले अमल तिर्नैपर्छ

सजायमा उनीहरू अर्मल पनि तिरिरहेछन्

प्राणदण्ड स्वकारेर

 

रगत चुसिरहेका लामखुट्टेहरू देखेर

शोषणका उग्र विरोधिहरू

तिनलाई

ठामका ठामै ठहरै पार्दैछन्

रगत चुसुवामा सुचिकृत गरेर

 

जतिखेर लामखुट्टेले रगत चुस्तै हुन्छन्

त्यतिखेर देखिने लामखुट्टेहरू

सूचीकृत हुदैँछन्, परमधाम जाँदैछन्

सूचीवालहरूद्वारा

 

तर नदेखिने लामखुट्टेहरू

थाहै नपाई चुस्स टोक्ने लामखुट्टेहरू

बाँचिरहेछन्

बचेको बच्यै छन्

 

भिजिटरहरूको अर्कै खेती छ

तिनीहरू सयौँ वर्ष पुरानो

डी.डी.टी. छर्कने सल्लाह दिदैँछन्

तर

मान्छेहरू डी.डी.टी. छर्कदैँछन्

लामखुट्टेहरू बढ्दैछन्

प्रतिरोधात्मक शक्ति बढ्दैछ

लामखुट्टेहरूमा

 

अझ नयाँ लामखुट्टेहरू

रगत चुस्ने नयाँ तरिका खोज्दैछन्

मलेरियाको बिख बोक्तैछन्

औँलो फैलाउने दाउ अझै गर्दैछन्

हे सुचीवालाहरू !

तिमीहरूले देखेका लामखुट्टे मात्र मार्दा

नदेखिनेहरू बाच्ने भए

बचिरहने भए

उसैले नदेखिएकाहरूले चुसे

चुसिरहने भए

तिमीहरूले नदेखेकाहरूलाई पनि

सखाप पार्नु छ

 

हे भिजिटरहरू !

डी.डी.टी. त सयौँ वर्ष पुरानो भइसक्यो

त्यसको प्रभाव बूढा लामखुट्टेहरूमा पर्दैन

नयाँ लामखुट्टेहरूमा त झन् पर्दैन

 

त्यसैले

सूचिवालहरू र भिजिटरहरू मिली

एउटा औषधिको निमार्ण गर्नु परेको छ

दृश्य र अदृश्य दुबै खाले लामखुट्टे

एकैचोटि सखाप पार्ने

यत्न रच्नु परेको छ

नभए

तिमीहरूले आ–आफ्नौ प्रविधिहरू

अपनायौ भने

लामखुट्टेहरूले चुसिरहनेछन्

लामखुट्टेहरूले प्रतिरोधात्मक क्षमता

विकास गरिरहनेछन्

बरू आफ्ना नयाँ मतियार खोजी

शोषणलाई अरू सयौँ वर्ष

जीवित राख्ने

प्रयत्न गरिरहनेछन्

तिमीहरूमाथि जबाबी हमला

बोलिरहनेछन्

देखेनौ तिमीहरूले

भर्खरै लामखुट्टेहरू

सशक्त भएर

आफू इतराका विरूद्ध जागेका

शोषण कायम राखिराख्न

लूट जारी राख्न

अन्याय बढाउँदै जान

 

तिमीहरूले साँच्चै लामखुट्टेबाट

बच्न चाहेको हो भने

तिमीहरू सूचीवाल र भिजिटरमा

बिभाजित नभई

लामखुट्टेहरूलाई देशबाटै

निर्मूल पार्ने

यज्ञमा लाग्नुपर्छ, लागिरहनुपर्छ

आजैदेखि, अहिल्यैदेखि ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !