२४ बैशाख २०८१, सोमबार

आव्हान गर्दछिन आमा आफ्ना सन्तानलाई


शोभा काफ्ले खतिवडा

कैयौँ वीरहरुको रगतले बनेको; सुन्दर देश हो यो मेरो;

कहाँ देख्न पाइन्छ जहाँ-तहाँ जलको यस्तो पँधेरो !१

 

जस्तो जीवन जस्लाई चाहिन्छ; खोज्दा नेपालमै पाइन्छ !

नपत्याए तिमी आफै खोजेर हेर; जगत सारा यहीँ भेटिन्छ !!२

 

कतै छिन्न भिन्न यसै नहोस है यो मेरो राज्य !

मेरो त्यो हिमचुली झैँ उज्यालो बनोस है यो साम्राज्य !!३

 

कर्णाली र मेचीसम्म नै कतै पनि देशमा भेदभाव अव नहोस !

सन्तानको जस्तो यो देशको पनि मोह हरेक भु-भागमा बढोस् !!४

 

हिमवत यो खण्ड मेरो रहोस है सँधा दिन अखण्ड !

मेटिएर जाओस हाम्रा मनका विद्रोह अनि पाखण्ड !!५

 

जन्मभूमिले एउटा मात्रै असल सन्तान खोजेकी छन् !

हाम्रो सुन्दर देश बचाउनलाई पो आव्हान गरेकी छन !!६

 

धीर पनि अति होस र ऊ गम्भिर पनि साँच्चै देखियोस !

कसैले हतास यदि पारे भने पनि; कहिले कतै हतास नबनोस !!७

 

यो विश्वमा कतै र कहीँ पनि छैन यस्तो कुनै पनि राज्य !

हे वीर सन्तान यो देशलाई पनि बनाइदेउन एक साम्राज्य !!८

 

के छैन यो भूमिमा तिमी आफैँ खोतलेर हेर्ने त गर !

अपार जलमा नै महाशक्ति घोली पठाएकी छु है कति धेर !!९

 

एउटै वीर सन्तान मेरो जतन गर्ने; मलाई चाहिएको छ !

यो जगतकै श्रेष्ठ भूमि हो भनेर भन्न मलाई कस्तो मन छ !!१०

 

तीनकोटी बहादुरको यो देश हो है नेपाल खण्ड !

तीनै कोटी सन्तानहरु मिलेर बनाउन है यसलाई अखण्ड !!११

 

देशका सिंजा, मेची, काली र कुना काप्चा पनि अव हाँसुन;

झुपडीमा दरवारको सुखको आभास सबैले पो पाउँन् !!१२

 

भोको नहोस बालकको पेट बुढा बुढी सुक्खले बाँचुन !

झुपडी र महलको भेदभाव अव कसैले कहिले नगरुन् !!१३

 

सवैलाई शुभ र चेतनाको एक उज्वल भविश्य दिने !

देशका हरेक युवाको चाहनालाई दीप जस्तै बाल्ने !!१४

 

एउटा मानिस चाहिएको छ यो देशलाई सँधै बचाउने !

उन्नति र विकास गरेर यहाँ समृद्दिको शिखर चढाउने !!१५

 

देशको धर्म कला र संस्कृति; आफैँ पढ्ने र ज्ञानले बुझ्ने !

यसकोधर्म,मर्म,गुह्य,रहस्यमय संस्कृतिलाई बचाउँने !१६

 

अरुले आई शिर आफ्नो जहाँ कति श्रद्दाले झुकाउँछन् !

त्यस्तो पावन यो भूमिलाई हामी आफैँ कहिले चिन्छौँ ?१७

 

तीनकोटी वीरहरुकी आमा हुँ म त फगत एउटी !

मेरा सन्तान बहादुर बनेर अव बसिदेऊ देशको धरौटी !!१८

 

अव मलाई मेरो यो देशको विकास धेरै चाहिएको छ !

मेरो मान इज्जत जोगाउने सन्तान पनि चाहिएको छ !!१९

 

अविचलित घीर अनि गम्भिर, ज्ञानी होस त्यो सन्तान !!

देशको हितमा प्राण त्याग्ने सहिद झैँ होस त्यो सन्तान !!२०

 

देश बुझोस्, महिमा बुझोस् यस्को प्राचीनता पनि बुझोस् !

विचलित नहोस,हरेस नखाओस मात्र यो देश बचाओस् अनि यो देश सुन्दर बनाओस !!२१

 

यो देश बुद्दको हो तिमी बुद्द नै पनि त बनि दिनु !

देशको नै हितका खातिर तिमी सत्ताको मोह त्यगि दिनु !!२२

*शोभा काफ्ले खतिवडा लेखक, साहित्यकार, सामाजिक अभियन्ता हुनुहुन्छ ।

यो पनि पढ्नुहोस् 

देश बुझ्ने शिक्षा दिऊँ


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !