१४ बैशाख २०८१, शुक्रबार

प्रेम : स्वागता छन्द


माया

ॐ श्रीपरमात्मने नम: ।

प्रेम हुन्छ अति दिव्य चरामा
प्रेम हुन्छ रसपूर्ण धरामा ।
प्रेम हुन्छ अनमोल परामा
प्रेम हुन्छ अति सौम्य चुरामा ।।१।।

प्रेम हुन्छ बहुमूल्य जरामा
प्रेम हुन्छ कमनीय जुरामा ।
प्रेम हुन्छ भजनीय भुरामा
प्रेम हुन्छ शुभ मान्य मुरामा ।।२।।

प्रेम हो अतुल नित्य जगत्मा
प्रेमपूर्वक पुजौं परमात्मा ।
प्रेमदान दिनुहुन्छ महात्मा
प्रेम हुन्छ मननीय मुमामा ।।३।।

प्रेम हो प्रणवको अवतार
प्रेम गर्दंछ रमी उपकार ।
प्रेम गर्दछ सधै उपचार
प्रेम हुन्छ भवभित्र उदार ।।४।।

प्रेम हुन्छ गतिलो ग्रहणीय
प्रेम हो प्रकृतिझैं पठनीय ।
प्रेम हुन्छ रसिलो रमणीय
प्रेम हुन्छ कमलो स्मरणीय ।।५।।

प्रेम सुन्दछ सुयोग्य पुकार
प्रेम पार्दछ मनोज्ञ मुहार ।
प्रेम हुन्छ सुकिलो सुकुमार
प्रेम फाल्दछ समस्त विकार ।।६।।

प्रेम हो प्रकृतिको उपहार
प्रेम सुन्दछ सुयोग्य पुकार ।
प्रेम राख्तछ विशुद्ध विचार
प्रेम हो अमल सात्विक हार ।।७।।

प्रेममा छ सबको अधिकार
प्रेम हुन्छ दरिलो दिलदार ।
प्रेममा छ जगको सब सार
प्रेम गर्दछ सदैव सुसार ।।८।।

प्रेम हो अमृततुल्य अनन्य
प्रेम हो मुदितमाधवजन्य ।
प्रेम हुन्छ धरणीसित धन्य
प्रेम हो सुखद सात्विक मान्य ।।९।।

प्रेममन्त्र जगभित्र जगाऔं
प्रेमका विमलबाग बढ़ाऔं ।
प्रेमका प्रथित काव्य बनाऔं
प्रेमका रुचिररीति रुचाऔं ।।१०।।

प्रेम हो परमपावनपात्र
प्रेम पुज्दछ महाजनमित्र ।
प्रेम हो भुवनभित्र पवित्र
प्रेम बस्तछ सघैंभर भित्र ।।११।।

प्रेम हुन्छ अवनीसित दिव्य
प्रेम हुन्छ जननीसित जप्य ।
प्रेम हुन्छ जनितासित सव्य
प्रेम हुन्छ भगिनीसित भव्य ।।१२।।

प्रेमका गुण मनोहर गाऔं
प्रेममा मुदित भाव मिलाऔं ।
प्रेमका सकल कष्ट हटाऔं
प्रेमका मधुर गीत सुनाऔं ।। १३।।

प्रेमका असल शास्त्र पढाऔं
प्रेम छन्दकवितातिर लाऔ ।
प्रेममा सुभगभाव सजाऔं
प्रेमका सुखद मार्ग समाऔं ।।१४।

रचयिता : गोपालप्रसाद भण्डारी, श्रीबल्लीधाम, बत्तीसपुतली, काठमाडौँ । हाल : प्रतिष्ठा निकेतन, नटिड्.घमपथ, टेक्सास, संयुक्त राज्य अमेरिका ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !