५ मंसिर २०८१, बुधबार

कविता – मायाले सजाऊँ


माया

हे आमा जननी गरेर रचना
नेपाल हेर्दै रमौँ !!
धर्तीका पहरा र सुन्दर छटा
देखेर दङ्गै परौँ !!
मायाले यसको मुहार अब लौ
सजाई मक्खै बनौ !
माटोको महिमा बुझेर मनमा
हिमाल चुम्दै रहौँ !!

आशा यो दिलको जगाइ मनमा
यी भीर पाखा डुलौँ !
साझा हो धरणी भनेर जगमा
डाँडा म खेली भुलौँ !
भाखा यो यसरी रमेर मनमा
छायाँ म देखी झरौँ !!
कायाले सबका सजाइ तनमा
मायाँ म मुटु भरौँ

मेरा शब्द हिमालबाट जसरी
पहाड झर्दै कुदे !
लेकाली मनका सुकोमल पना
ल्याएर छर्दै थिए !!
पाखा पर्वतका विचार बटुली
भूमिमा रोपी सबै !
आकासै समिपै लुकेर दिलको
सौन्दर्य हेर्दै थिए !!

पानीका यसरी बगेर झरना
हिमालबाटै झरी !
खानी कै सुनका झिकेर गहना
माला सजाई वरी !!
आँखामा यसरी लगाइ देशको
निशान राखौँ कसी !
धर्तीमा नजरै झुकाइ सहजै
दिलमा राखौँ दसी !!

नेपाली पहरा हजार छहरा
हाँसेर बग्छन यहाँ
जङ्गली लहरा रमाइ वनमा
फैलेर रम्छन जहाँ !
मायाँलु मनको बुनेर गहना
लाएर हाँसी रहौँ !
यो काव्य महिमा बुझेर रचना
लेखेर हामी रमौँ !!

जस्लाई मनले बुझेर लहना
पाएर दङ्गै परौँ !
यस्लाई सबले बुझेर रहदा
सम्मान ठूलो गरौ !!
नेपाली बनको अपार महिमा
देखेर दङ्गै रहौँ!
छातीमा देशको विचित्र गहना
कोरेर हामी रमौ !!

माथैमा यसको अपूर्व छहरा
सजाई साथै रमौँ !
आँखैमा सबको अमूर्त्त लहना
बुझेर हामी बसौँ !!
आमाको मनमा अपार गहिरो
दिएर गौरव नै !
बाबाको तनमा सलाम पहिलो
सुम्पेर पौरख चैँ !!

क्रमश:…….!!

शुभा

शार्दूलविक्रीडित छन्द १९ अक्षरको छन्द
१२अ क्षरमा विश्राम
गण :
मऽऽऽ , स।।ऽ , ज ।ऽ। ,स ।।ऽ
तऽऽ। तऽऽ। गूरुऽ

बनाउने फर्मुला-बन्ला यो, मसजा
सतात गुरुले; शार्दूलविक्रीडित

*शोभा काफ्ले खतिवडा लेखक, साहित्यकार, सामाजिक अभियन्ता हुनुहुन्छ । 


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !