१४ बैशाख २०८१, शुक्रबार

कविता – सेटिङमा भ्रष्टाचार


रामचन्द्र तिम्सिना

अस्ति जस्तै लाग्छ
उहाँले भन्नु भएको कुरो
गर्नु भएको भाषण
म आफू भ्रष्टाचार गर्दिन
अरुलाई पनि गर्न दिन्न ।
अझ उहाँले त
वाहवाहि बटुल्दै यो पनि भन्नुहुन्थ्यो
भ्रष्टाचारीको मुख पनि हेर्दिन ।

हिजोको प्रमुख हेडलाईन समाचार हेरें
उहाँको भाषण सम्झिए
अनि
धुरुधुरु रोए ।
नेपाल त एसिया मै भ्रष्ट मुलुक पो बन्यो अरे ।

हुन पनि हो

१ करोडको हावाघर जस्तो नाचघर
७० लाखको १ किलोमिटर गोरेटो बाटो
५० लाखको एककोठे ट्वाईलेट
२० लाखको दुई सिंढी चौतारो
अनि
१० लाखको एकसिंगे धारो ।

कति लाजमर्दो छ है ?

देखिएका यी
लेखिएका यी
देख्न र लेख्न बाँकी कति होलान ?
स्थानीय तहमा
बेरुजुको ठेली छन् अरे
रक्सी र मासुमा
कति उडेका होलान् ।
भ्रष्टाचार कति भएका होलान् ?
१% देखि १५% सम्म कमिसनमा
बार्गेनिङ हुन्छन अरे ।

मन कुडिन्छ र भक्कानिन्छ मुटु
तर गार्हो छ
बोल्दा ज्यान मार्ने धम्की आउँछ
लेख्दा कलम खोसिन्छ र मात्रै हो ।

माथि देखि तल सम्म
नेता देखि हाकिम सम्म
अध्यक्ष देखि कार्यकर्ता सम्म
सत्तपक्ष देखि प्रतिपक्षी सम्म
टोले डन देखि झोले डन सम्म
आँखामा पट्टि बांधेर कतिन्जेल बस्नु
सेटिङ मिलाई मिलाई
कमिसन बुझेका हुन्छन् अरे ।

स्थानीय सरकारको बिकास
ग्रामीण सडकमा मात्रै किन पारिन्छ ?
उपभोक्ता समिति र ठेक्का सम्झौता कमिसनमा तोकिन्छ अरे
आफ्नै डोजरमा पनि
मिलाई मिलाई कमिसन खोजिन्छ अरे ।

जवाफ कसले दिने ?

उहाँको भ्यु टावरबाट भ्रष्टाचार देखिदैन
देखिए पनि रोकिदैन
उहाँको एक्सन रुमबाट एक्सन लिईदैन अरे ।
किन हो थाहा छैन मलाई
अस्ति एउटा साथीले कानमा सुटुक्क भनेको
सबै सेटिङ्गमा मिलेका हुन्छन् अरे।

४ महिना देखि जुम्ल्याहा रेल
घुम्टो ओढेर सुतेकी छिन ।
रेल बिभाग र
पानीजहाज बिभागमा भर्ती चलेकै छ
आसेपासे भरेकै छ ।
कर्मचारीले तलब थापेकै छन् अरे ।

गरिब सर्वहारा उहीँ त होनी हजुर

४६ हजार राष्ट्रिय ॠण थाप्लोमा बोकेर ।
कोहि अरबको बालुवामा घिसारिएको छ अरे
कोहि मलेसियाको जंगलमा पसारिएको छ अरे ।

रामचन्द्र तिम्सिना
(आवाज)


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !