२५ बैशाख २०८१, मंगलबार

कालीगण्डकीको पानी तानेर हजार घरमा धारा


खानेपानी

बलेवा, २३ फागुन । समथर जमिन, बाक्लो बस्ती, बढ्दो जनसङ्ख्या तर खानेपानीको सधैँ अभाव । नजिकै बगेको कालीगण्डकी र धापेखोलाको पानी देखे पनि उपभोग गर्न नपाएका बागलुङको नारायणस्थानका सर्वसाधारणले लामो समयदेखि पानीको अभाव झेल्दै आएका छन् ।

हाल बागलुङ नगरपालिका–१४ नारायणस्थानमा पानीका मुहान छैनन् । छिमेकी अमलाचौरको धापेखोला र पैञ्युपाटाको राधापानी मुहानबाट ल्याएको पानीले यहाँका सर्वसाधारणको दैनिकी जसोतसो चलिरहेको छ । खानेपानीको सास्ती खेप्दै आएका नारायणस्थानका सर्वसाधारणको दैनिकी अब भने फेरिने भएको छ । कालीगण्डकी तटमा रहेका मुहानलाई एकीकृत गरी नारायणस्थानमा पानी पु¥याइएपछि सर्वसाधारणको दैनिकी फेरिने भएको हो ।

जिल्लामै पहिलोपटक खानेपानीका लागि लिप्mटिङ प्रविधि भित्र्याइएको नारायणस्थानमा अब भने घरघरमै पानी आउने छ । घरघरमा पानी पु¥याउने अभियान अन्तिम चरणमा प्रवेश गरेकाले चैत्रभित्रै नारायणस्थानका घरघरमा सो पानी पुग्ने खोपानी तथा सरसफाइ उपभोक्ता संस्थाका अध्यक्ष चक्रबहादुर खत्रीले बताउनुभयो । आँखाले कालीतिरको पानी हेरेर प्यास मेट्ने गरेका यहाँका सर्वसाधारणले त्यही पानीले घाँटी भिजाउने दिन आएको नारायणस्थानको गार्लुङ गाउँका स्थानीय होमनाथ शर्माले बताउनुभयो ।

नेपाल सरकारको सहलगानी कार्यक्रमअन्तर्गत यो योजना सम्पन्न भएको हो । कालीगण्डकीतिरबाट ३९० मिटरको सिधा उचाइमा पर्ने पानी ट्याङ्कीमा दुई हजार ७०० मिटर दूरीको पाइपले पानी बोक्ने छ । मुहान र पाइप लाइनको मध्यभागमा दुई मोटर जडान गरेर मुख्य ट्याङ्कीसम्म पानी पु¥याइएको अध्यक्ष खत्रीले बताउनुभयो ।

यो योजना निर्माण गर्न झण्डै रु आठ करोडभन्दा धेरै खर्च भएको छ । शुरुआती लागत भने रु १० करोड माथिको थियो । रु छ करोड ६२ लाखमा चन्द्र एण्ड वसन्त निर्माण कम्पनीले निर्माण गरेको यो योजना उपभोक्ता समितिको श्रमदान र नगद लगानीमा बनेको हो । विसं २०७३ मा शुरु भएको निर्माणको काम कम्पनीले एक वर्ष म्याद थपेर गत असारभित्र सम्पन्न गरेको थियो । उपभोक्ताले गर्नुपर्ने र विद्युत् जडानलगायतका केही काम बाँकी रहेकाले आगामी चैतभित्रै पानी वितरण गर्ने गरी काम भइरहेको संस्थाका सचिव नारायण श्रेष्ठले बताउनुभयो ।

कूल लागतको ७० प्रतिशत नेपाल सरकार, २० प्रतिशत जनश्रमदान र १० प्रतिशत उपभोक्ताको लगानीमा यो योजना निर्माण भएको हो । योजना सम्पन्न भएपछि त्यस क्षेत्रका एक हजार ५२५ घरघुरीका करिब पाँच हजार बासिन्दा प्रत्यक्ष लाभान्वित हुने अध्यक्ष खत्रीले बताउनुभयो । योजनामार्फत ३० हजार २०२ मिटर पाइप लाइन बिछ्याउने काम भएको छ भने एक हजार २५ धारा निर्माण गरिनेछ । योमध्ये ९५० भन्दा धेरै धारा जडान भइसकेका संस्थाले जनाएको छ । विद्युत्को परीक्षण र प्रसारणको काम मात्रै बाँकी रहेकाले विद्युत् प्राधिकरण वितरण केन्द्र कुश्मा र बागलुङले काम सक्दाको भोलिपल्ट उपभोक्ताको धारामा पानी खस्ने अध्यक्ष खत्रीको भनाइ छ ।

“एक घर एक धारा चौबीसै घण्टा पानी आउँछ”, अध्यक्ष खत्रीले भन्नुभयो, “२० वर्षसम्म हामीले अहिले तानेको पानीले धान्छ ।” यो योजना नारायणस्थानका नौवटै र पैयुँपाटाका वडा नं ८ र ९ मा सञ्चालन भएको छ । अहिले प्रतिसेकेण्ड आठ लिटर पानी तान्ने बताइएको छ । यसभन्दा पहिले धारापानीबाट दुई दशमलव पाँच र धापेखोलाको पानी तीन लिटर प्रतिसेकेण्ड ट्याङ्कीमा जम्मा हुने गरेको छ । तीनवटै पानीलाई एकीकृत गरेर उपभोक्तालाई वितरण हुनेछ ।

उक्त खानेपानी योजनाअन्तर्गत पानी परीक्षण प्रयोगशाला, कार्यालय भवनसँगै २० भल्भ च्याम्बर निर्माण भएका छन् । नारायणस्थामा जनसङ्ख्या बढ्दै गएकाले पनि खानेपानीको माग धेरै छ । नगरपालिकाले यही कार्यकालभित्रै सबै घरमा खानेपानी पु¥याउने उद्घोष गरेअनुसारनै नारायणस्थानका उपभोक्ताले गर्नुपर्ने नगद योगदानमा सहभागिता जनाएको थियो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !