१५ बैशाख २०८१, शनिबार

रासायनिक मल नहुँदा भकारो


मल

वीरगञ्ज, २३ असार । पशुको गोबर र मूत्र व्यवस्थापन गरी मलखादको रुपमा फाइदा लिन पर्सा जिल्लामा कार्यान्वयनमा आएको भकारो कार्यक्रम लोकप्रिय हुँदै गएको छ । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन एकाइ (तरकारी जोन) द्वारा कार्यान्वयनमा ल्याइएको सो कार्यक्रमबाट हालसम्म एक हजार परिवार लाभान्वित भएका छन् । वरिष्ठ कृषि अधिकृत रोशन अधिकारीले भन्नुभयो, “यसरी सञ्चित गरिएको मलले रासायनिक मलको अभाव भइरहेको समयमा फाइदा लिन सकिने छ ।”

आर्थिक वर्ष २०७६–०७७ मा लागू भएको सो कार्यक्रम पहिलो चरणमा बहुदरमाई नगरपालिकामा मात्र लागू गरिएको थियो । आगामी आर्थिक वर्षदेखि अन्य स्थानीय तहमा पनि विस्तार गरिने लक्ष्य रहेको जनाइएको छ ।

किसान विवेक कुशवाहाले आफ्नो दुई कट्ठा जग्गामा तरकारी खेती गरी राम्रो आम्दानी लिएको बताउनुभयो । अर्का किसान प्रमोद यादवले १५ कट्ठा जग्गामा तरकारी खेती गर्नेतर्फ हौस्सिएका छन् । तरकारी जोन कार्यक्रम लागू भएपछि यसमा आबद्ध किसानको जीवनस्तरमा सुधार आएको छ ।

सो कार्यालयले आर्थिक वर्ष २०७६–०७७ मा साना सिँचाइ कार्यक्रमअन्तर्गत रु ५० लाख ५० हजार बराबरको ७६ वटा पानी तान्ने मोटर तथा ९६ वटा पम्पसेट विरतण गरेको छ । सो पम्पसेटबाट २०० हेक्टर क्षेत्रफल सिञ्चित हुने वरिष्ठ कृषि अधिकृत अधिकारीले बताउनुभयो ।

सो कार्यालयले सोही अवधिमा साना मेशिनरी कार्यक्रमअन्तर्गत रु १५ लाख ४० हजार मूल्य बराबरको ३४० वटा डिजिटल काटा र इलेक्ट्रिकल चेयर वितरण गरेको छ । सोअन्तर्गत रु १८ लाख ४४ हजार ५०० इलेक्ट्रिकल स्पेयर वितरण गरेको छ । यसमा किसानको ५० प्रतिशत र कार्यालयको ५० प्रतिशत लगानी रहेको छ ।

यसैगरी प्रोत्साहन अनुदान कार्यक्रमअन्तर्गत किसानको तरकारी क्षेत्रफल र उत्पादकत्वको आधारमा ११७ वटा कृषक समूह, उद्यमी र सहकारीलाई सिधै खातामा जम्मा हुने गरी रु सात लाख ६० हजार रकम अनुदान दिएको छ । लामो समयदेखि जारी रहेको लकडाउनको कारण उत्पादित तरकारी बिक्री नभएको तथा क्षति भएकाले किसानको उच्च मनोबल बढाउन उक्त अनुदान दिएको कृषि अधिकृत पुरुषोत्तम रौनियारले जानकारी दिनुभयो । कार्यालयले किसानलाई तरकारी खेतीतर्फ सूचना प्रवाह गर्न मोबाइल एप्स तथा निःशुल्क पासो वितरण गरेको छ ।

किसानको उत्पादनलाई ३० प्रतिशत वृद्धि गर्ने उद्देश्यले कार्यालयले सहभागितात्मक उन्नत प्रविधिको प्रदर्शन, प्लाष्टिक कचिगंको प्रयोगजस्ता कार्यक्रम सञ्चालन गरेको छ । भकारो सुधार कार्यक्रमअन्तर्गत १०० किसानलाई सहयोग गरेको थियो ।

सो कार्यालयले लागू गरेको तरकारी खेतीसम्बन्धी कार्यक्रमबाट एक हजार परिवार किसान लाभान्वित भैसकेका छन् । जिल्लाको विभिन्न ठाउँमा किसानले २१ हेक्टर क्षेत्रफलमा व्यावसायिक रुपमा परवलखेती गरिरहेका छन् । सो कार्यक्रमलाई विस्तार गर्ने नीतिसमेत रहेको जनाइएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !