८ मंसिर २०८१, शनिबार

वामदेवले फेरि कुरा फेर्दै भने- म माधव नेपालको पार्टीमा प्रवेश गर्छु


बामदेव गौतम र ऋषि धमला

काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष तथा पूर्व उपप्रधानमन्त्री बामदेव गौतमले केपी ओलीको कारण एमाले फुटेकोले आफू माधव नेपालले निर्वाचन आयोगमा दर्ता गरेको नयाँ दल नेकपा (एकीकृत समाजवादी) मा प्रवेश गर्ने बताएका छन् ।

हिजो राति ७ः५० बजे प्राइम टाईम्स टेलिभिजनबाट प्रसारण हुने ‘जनता जान्न चाहन्छन्’ कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै नेता गौतमले यस्तो घोषणा गरेका हुन् ।

कुराकानीको क्रममा उनले भनेका छन्,‘केपी ओलीको जालझेल, षड्यन्त्र, दम्भ र अहमताको कारणले नेकपा (एमाले) फुट्यो, अब म केपी ओलीको नेतृत्वको एमालेमा रहन सक्दिन् । उनले कम्युनिष्ट आन्दोलनलाई बचाउन सक्नुहुन्न ।’ उनले आफू माधव नेपालको पार्टीमा जाने तयारी भई सकेको र निर्वाचन आयोगले दल दर्ताको लागि सनाखत गर्नेबित्तिकै प्रवेश गर्ने पनि जनाए ।

उनले भनेका छन्,‘माधवजीको पार्टीलाई निर्वाचन आयोगले सनाखत गरेर नयाँ दलको मान्यता दिएपछि एमाले छोडेर माधव नेपालको पार्टीमा जान्छु, म मात्रै होईन एमाले एकता अभियानमा रहेका २ हजार नेता तथा कार्यकर्ताहरु माधव नेपालको पार्टीमा प्रवेश गराउँछु । हामी सबै प्रवेश गर्छौं ।’

हिजो मात्र गौतमले आफू अहिले एमालेमै रहेको स्‍पष्‍ट पारेका थिए । आइतबार सचिवालयमार्फत आफ्‍नो धारणा सार्वजनिक गर्दै आफूलाई नेकपा (एकीकृत समाजवादी) पार्टीमा गएको भनेर प्रचार गरिएकोमा समेत असन्‍तुष्‍टि जनाएका थिए ।

सचिवालयमार्फत् जारी विज्ञप्‍तिमा नेतृत्वको कार्याशैलीप्रति लामो समयदेखि मतभेद राख्दै आएको कुरा भने दोहोर्‍याएका थिए । बिहान मात्र ओलीको नेतृत्वमा रहेको एमालेमा छु भनेर आफ्नो सचिवालयमार्फत विज्ञप्ति जारी गरेका वामदेवले बेलुका भने कुरा फेर्दै माधव नेपालको पार्टीमा प्रवेश गर्ने बताएका थिए ।

यो पनि पढ्नुहोस्

म एमालेमै छु, माधव नेपालको पार्टीमा गएको भन्दै चरित्र हत्या गरियो : बामदेव गौतम


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !