३० भदौ २०८३, मंगलबार

लेलेमा घाट निर्माण गरिने


Nepalpatra

२१ चैत, ललितपुर । गोदावरी नगरपालिका–५ लेलेको तिलेश्वर धाम क्षेत्रभित्र पर्ने तिलेश्वर घाट निर्माण गरिने भएको छ । नगरपालिकाले आगामी वैशाखको पहिलो हप्ताबाट रु १४ लाख लगानीमा उक्त घाट निर्माण गर्न लागेको हो ।

काठमाडौँ उपत्यकाकै प्राचीनतम धार्मिकस्थल प्रमाणित तथा विश्व सम्पदा क्षेत्रमा सूचीकृत पशुपतिनाथभन्दा पुरानो मानिने सो घाट बजेटको अभावमा धेरै वर्ष अघिदेखि लथालिङ्ग हुँदा मर्मतको लागि ध्यान दिइएको नगरप्रमुख गजेन्द्र महर्जनले जानकारी दिनुभयो ।

करीब चार रोपनी क्षेत्रफलमा फैलिएको सो घाटमा बर्खामा शव पोल्दा निकै समस्या भोग्नुपर्ने गोदावरी नगरपालिका प्रवक्ता मिलन सिलवालले जानकारी दिनुभयो । “घाटमा एकैपटक तीन वटा भकारी निर्माण गर्ने छौँ”, सिलवालले भन्नुभयो, “विशेष गरी यो घाटको प्रयोग यहाँका नेवार र क्षेत्री समुदायले गर्ने गर्छन् ।”

विगत महेन्द्र सरकारका पालामा पहिलोपटक यो घाट मर्मत भएको कथन लेलेका वृद्धवृद्धा बताउँछन् । दिउँसो र बेलुका घाटमा शव लिएर जाने मलामीले ओतको छाहारी पाउने भएका छन् । त्यसैगरी त्यहाँका तामाङले शव जलाउने अर्काे घाट फुल्चोकी मन्दिरमुनि मर्मतको काम धमाधम अघि बढिरहेको छ ।

त्यसैको सिमाना नजिक रहेको वडा नं ६ नगरकोटीले शव जलाउन प्रयोग गर्ने टीकाभैरव खोलामाथिको घाट निर्माण, खोला सुधार र स्तरोन्नतिका लागि बजेट छुट्टाइएको सिलवालले बताउनुभयो । यसका साथै वडा नं ५ ले लेले तिलेश्वरधाम, मनकामना मन्दिर, भुवनेश्वर महादेव मन्दिर, टीकाभैरव महादेव मन्दिर सुधारको काम गरिरहेको छ । (रासस)


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु