सुर्खेत । डोल्पा जिल्ला कारागारबाट फरार भएका दुई कैदीलाई प्रहरीले रुकुम पश्चिमबाट पक्राउ गरेको छ । कारागारबाट फरार भएका आठ कैदीबन्दीको खोजी गर्ने क्रममा मंगलबार बिहान दुईजनालाई रुकुम पश्चिमको आठबिसकोट नगरपालिका–६, दामाचौरस्थित खोली बगरबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
यही कात्तिक १४ गते बिहान करिब ६ बजे डोल्पाको ठूलीभेरी नगरपालिका–३ स्थित जिल्ला कारागारबाट आठ कैदीबन्दी फरार भएका थिए । उनीहरू सुरुङ खनेर त्यहाँबाट भागेका थिए । उनीहरूको खोजी तथा पक्राउका निम्ति प्रहरी परिचालन गरिएको थियो । यही क्रममा मंगलबार बिहान करिब १०ः३० बजे दुईजनालाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमले जनाएको छ ।
प्रहरीले टोलीले खोली बगरमा चेकजाँच गर्ने क्रममा आठबिसकोट नगरपालिका–९, राडीतर्फ आउँदै गरेको कर्णाली प्रदेश ०२–००१ च ०८३१ नम्बरको डबल क्याप बोलेरो जीप रोकेको थियो । उक्त जीप जाँच गर्ने क्रममा दुईजना भाग्न खोजेपछि प्रहरीले नियन्त्रणमा लिएको थियो । सोधपुछका क्रममा उनीहरू डोल्पा कारागारबाट फरार भएका कैदी रहेको खुलेपछि थप अनुसन्धान तथा कारबाहीका निम्ति प्रहरी चौकी गोतामकोटमा राखिएको रुकुम पश्चिम प्रहरीले जनाएको छ ।
पक्राउ पर्नेमा आठबिसकोट–१० का ३२ वर्षीय रामबहादुर विक र सल्यानको कुमाख गाउँपालिका–५ का २८ वर्षीय रेशम राना छन् । उनीहरू दुवैजना जबर्जस्ती करणी मुद्दामा कैद भुक्तान गरिरहेका कैदी भएका प्रहरीले जनाएको छ ।
डोल्पा कारागारबाट फरार भएका आठमध्ये दुईजना पक्राउ परे पनि बाँकी कैदीबन्दीको अवस्था खुलेको छैन । उनीहरूको खोजी तथा पक्राउका निम्ति प्रहरीले अभियान जारी राखेको छ ।












