१७ कार्तिक २०८३, मंगलबार

सर्वोच्चका न्यायाधीश फुयाल बसे बिदामा


हरिप्रसाद फुयाल

काठमाडौं । सर्वोच्च अदालतका न्यायाधीश हरिप्रसाद फुयाल बिदामा बसेका छन् । आज मंगलबारदेखि उनी कात्तिक २० गतेसम्मका लागि बिदामा बसेको सर्वोच्चका प्रवक्ता अशोक क्षेत्रीले जानकारी दिए ।

उनले प्रधानन्यायाधीश मनोजकुमार शर्मासँग कात्तिक १७ गतेदेखि २० गतेसम्मको बिदा स्वीकृत गराएका छन् । त्यसपछि तिहार बिदा सुरू हुन्छ ।
बिदामा बस्नुको कारण भने खुलेको छैन । सर्वोच्चको मुद्दा पेसी सूचीमा न्यायाधीश फुयाललाई इजलास तय भएको छैन ।

पछिल्लो समय न्यायाधीश फुयाल सम्पत्ति शुद्धीकरणको अनुसन्धानका लागि हिरासतमा रहेका इनम सापकोटासँगको कुराकानीको स्क्रिनसट बाहिरिएको थियो। कुराकानीपछि न्यायाधीश फुयाल र सापकोटाबीच हिमालय होटलमा भेट समेत भएको थियो।

हिमालय होटलमा अन्य न्यायाधीशहरू समेत रहेको फुयालको भनाइ थियो। न्यायाधीश फुयालले भने भेट भए पनि आफूहरूले मुद्दा मामिलामा कुनै गलत कार्य नगरेको बताउँदै आएका छन्। साथै, त्यस भेटपछि नै शंकास्पद देखिएपछि इनमविरूद्ध सरकारलाई जानकारी गराएको उनको दाबी छ।

न्यायपालिकासम्बन्धी समसामयिक विषयमा निर्णय लिन सोमबार बसेको सर्वोच्च अदालतको ‘फुलकोर्ट’ बैठकले विवादमा परेका न्यायाधीशमाथि छानबिन गर्न सम्बद्ध निकायलाई आग्रह गर्ने निर्णय लिएको थियो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !