१७ कार्तिक २०८३, मंगलबार

देश असाधारण संकटमा छ, पूर्वाग्रह त्यागेर सबै वामपन्थी शक्ति एकता गरौँ : प्रचण्ड


प्रचण्ड

काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल प्रचण्डले नेकपा (एमाले) सहित सबै वामपन्थी शक्तिहरूलाई एकताको लागि आह्वान गरेका छन् । आज मंगलबार काठमाडौंमा आयोजित नेपाली कम्युनिष्ट पार्टी र नेपाल कम्युनिष्ट पार्टीबीचको पार्टी एकता घोषणा कार्यक्रममा बोल्दै संयोजक दाहालले यस्तो आह्वान गरेका हुन्।

उनले अहिले मुलुक असाधारण संकटमा रहेको उल्लेख गर्दै सबै खालका आग्रह, पूर्वाग्रह र सङ्कीर्णताबाट मुक्त भएर राष्ट्रलाई प्राथमिकतामा एकतावद्ध हुनुपर्ने आवश्यकता रहेको बताए। उनले विगतमा विभिन्न कोणबाट एकता र सहकार्य गर्दा भोगेका उतारचढावहरूको आत्मसमीक्षा गर्दै मुलुकको स्वाधीनताको रक्षाका निम्ति फेरि एक पटक एकतावद्ध हुन जरुरी रहेको बताए।

हिजो माओवादी र एमालेका विभिन्न धारमा रहेका नेता कार्यकर्ताहरुलाई जोड्ने जिम्मेवारी समेत आफूहरुकै काँधमा रहेको उनको भनाइ छ । उनले अहिले देशको अस्तित्व नै संकटको अवस्थामा पुगेको भन्दै यसतर्फ सबैले सोच्नुपर्ने बेला आएको पनि स्पष्ट पारे ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !