काठमाडौं । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाको समूहले १५औं महाधिवेशन खुलामञ्चमा गर्ने भएको छ । कांग्रेसको संस्थापन इतर समूहले महाधिवेशन काठमाडौंको खुलामञ्चमा गर्ने भएको हो ।
देउवा समूहले आगामी मंसिर २१ गतेदेखि २३ गतेसम्मका लागि निर्धारण गरेको महाधिवेशन खुलामञ्चमा गर्ने भएको हो । केन्द्रीय निर्वाचन समितिका सदस्यसचिव अमृत कार्कीले महाधिवेशनका लागि काठमाडौंका तीन स्थान तय गरिएको जानकारी दिए ।
उनका अनुसार महाधिवेशनका लागि देउवा समूहले खुलामञ्चसँगै राष्ट्रियसभा गृह र भृकुटीमण्डप पनि बुक गरेको छ । त्यस्तै, मतदानका लागि राष्ट्रियसभा गृहलाई प्रयोग गरिने भएको छ ।
उनका अनुसार, महाधिवेशन खुलामञ्चमा हुनेछ भने भृकुटीमण्डपको बगैँचा क्षेत्रमा खानाको व्यवस्था गरिनेछ । महाधिवेशन स्थलको टुंगो लगाएको इतर पक्षले भावी नेतृत्वबारे भने अझै टुंग्याउन सकेको छैन ।
सभापतिका आकांक्षीहरूबीच सहमति जुट्न नसक्दा कसलाई उमेदवार बनाउने भन्ने विषय अनिर्णीत छ । यसअघि काँग्रेसको गगन थापा नेतृत्वको संस्थापन समूहले पनि खुलामञ्चमै महाधिवेशन गरेको थियो ।












