१२ कार्तिक २०८३, बिहिबार

फूलको अग्रिम माग हुन थालेपछि व्यवसायी उत्साहित


व्यवसायी उत्साहित

कञ्चनपुर । तिहार नजिकिँदै गर्दा फूलको अग्रिम माग आउन थालेपछि कञ्चनपुरका पुष्प व्यवसायी उत्साहित भएका छन् । विगतमा फूलको बजार नपाउँदा बारीमै फूल कुहिने समस्या भोगेका यहाँका पुष्प व्यवसायीले यस वर्ष तिहारअघि नै माग आउन थालेपछि राहत महसुस गरेका छन् ।

सात वर्षदेखि पुष्प व्यवसाय गर्दै आएकी कञ्चनपुरको भीमदत्त नगरपालिका–१ की सिर्जना जोशीले विगतका वर्षमा उत्पादन गरेको फूल बिक्री नहुँदा घाटा बेहोर्नुपरेको अनुभव सुनाइन् । ‘दुई वर्षअघिसम्म फूल उत्पादन गरे पनि बजार नपाउँदा बारीमै कुहिने समस्या भोग्यौँ’, जोशीले भनिन्, ‘गत वर्ष फूलले बजार पाएपछि राम्रो आम्दानी भयो ।’

उनले स्थानीय प्रशासनले प्लाष्टिकका मालामा रोक लगाउनुका साथै भारतबाट आउने फूलमा रोक लगाएपछि स्थानीय फूलले बजार पाएको बताइन् । ‘गत वर्ष फूलले बजार पाउँदा यस वर्ष खेती बढाएको छु’, उनले भनिन्, ‘यस वर्ष तिहारअघि नै फूलको बुकिङ आउन थालेको छ उत्साहित छौँ’, उनले अहिलेसम्म २० किलो फूलको अग्रिम बुकिङ भइसकेको बताइन् ।

तीन सय बोट फूलको रोपेर सात वर्षअघिदेखि पुष्प व्यवसायमा लागेकी उनले हाल १५ कट्ठा जग्गा क्षेत्रफलमा फूलखेती गर्दै आएकी छिन् । वार्षिक ३० हजार भाडा तिर्नेगरी १५ कट्ठा जग्गा भाडामा लिएर फूलखेती गर्दै आएकी छिन् ।

‘दोस्रो वर्ष मैले एक हजार बोट फूलखेती गरेको थिए बजार नपाउँदा सबै कुहियो, त्यसपछि अर्को वर्ष चार हजार बोट खेती गरे बिक्रीका लागि काठमाडौँ पठाउँदा बाटोमै बाटोमै कुहियो ।’ पुष्प व्यवसायी जोशीले भनिन्, ‘दुई वर्षअघि मात्रै पनि उत्पादन भएको फूल बिक्री नहुँदा २ क्वीन्टल खेर गएको थियो ।’

गत वर्ष उनले १० कट्ठा जग्गा क्षेत्रफलमा फूलखेती गरेकी थिइन् । फूलले राम्रो बजार पाउँदा उहाँले राम्रो आम्दानीसमेत गरिन् । ‘कर्मचारी र मजदुर सबैको खर्च कटाएर डेढ लाख आम्दानी भएको थियो’, उनले भनिन्, ‘गत वर्ष फूलले बजार पाएपछि यस वर्ष खेती बढाएको छु ।’

विगतमा बजार नपाउँदा व्यरोरेको घाटा यस वर्ष नाफामा परिणत हुने उनको अपेक्षा छ । परम्परागत खेतीभन्दा फूलखेतीमा तीनगुणा बढी आम्दानी हुने भएकाले फूलखेतीमा लागेको उनको भनाइ छ ।

तिहारमा सयपत्री फूलको माला, पूजाआजा तथा घर सजावटमा प्रयोग हुने भएकाले यसको माग पछिल्लो समय बढ्दो छ । बजारमा विवाह र सांस्कृतिक कार्यक्रममा आउने सयपत्री फूलको मागलाई लक्षित गर्दै पुष्प व्यवसायीले फूलखेती गर्दै आएका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !