काठमाडौं । राहुघाट जलविद्युत् आयोजनाको मर्मतसम्भारपछि पुनः विद्युत् उत्पादन सुरु गरिएको छ । यही असोज ११ गते कालीगण्डकी नदीमा गएको बाढीले आयोजनामा क्षति पुर्याएको थियो ।
बाढीबाट विद्युत्गृह डुबानमा पर्नुका साथै महत्त्वपूर्ण संरचना र उपकरणमा क्षति पुगेको थियो । आवश्यक मर्मतसम्भार तथा प्राविधिक कार्य सम्पन्न गरी आयोजनाको एउटा युनिट (२० मेगावाट) आजदेखि सञ्चालनमा ल्याइएको हो ।
आयोजनाको विद्युत्गृहबाट विद्युत् उत्पादनपछि पानीलाई कालीगण्डकी नदीमा पठाउन प्रयोग हुने टेलरेस गेटमा बाढीले क्षति पुर्याएको थियो ।
त्यसपछि टेलरेसबाट विद्युत्गृहभित्र पानी प्रवेश गरेको थियो । यसले गर्दा भरखरै निर्माण सम्पन्न भई परीक्षणका रूपमा विद्युत् उत्पादन सुरु गरेको आयोजना बन्द भएको थियो ।









