२ मंसिर २०८३, बुधबार

दानबहादुरको अन्तरिम आदेशसम्बन्धी छलफल मंसिर ७ गते हुने, दुवै पक्षलाई बोलाइयो


दानबहादुर कार्कीको रिटमा सर्वोच्चले दिएन अन्तरिम आदेश

काठमाडौं । सर्वोच्च अदालतले दानबहादुर कार्कीलाई प्रहरी महानिरीक्षक (आईजीपी) बाट हटाउने मन्त्रिपरिषद्को निर्णयबारे छलफल गर्न आगामी मंसिर ७ गतेको पेसी तय गरेको छ । सर्वोच्चका प्रवक्ता डा. अशोक क्षेत्रीका अनुसार मंसिर ७ गतेका लागि अन्तरिम आदेशको छलफलमा लागि सुनुवाइको पेसी तय भएको हो ।

रिट निवेदनमाथि सुनुवाइ सकिएपछि न्यायाधीश श्रीकान्त पौडेलको एकल इजलासले तत्कालका लागि निर्णय रोक्न अल्पकालीन अन्तरिम आदेश दिनुपर्ने माग अस्वीकार गरेको छ । प्रवक्ता डा. क्षेत्रीले मंसिर ७ गते रिट निवेदक र सरकारबीच अन्तरिम आदेशको मागमा छलफल हुने बताए ।

आईजीपी पदबाट हटाइएका कार्कीलाई पुनर्बहाली गर्ने वा नगर्ने भन्ने विषयमा सर्वोच्चले अन्तरिम आदेश जारी गर्ने सम्बन्धमा छलफल गर्न दुवै पक्षलाई मंसिर ७ गते बोलाएको हो । अब आईजीपीमा नियुक्त मनोज केसीको निर्णय रोक्न अन्तरिम आदेश जारी हुने वा नहुने विषयको टुंगो दुई पक्षीय सुनुवाइपछि मात्रै लाग्ने छ ।

सरकारले कात्तिक १८ गते कार्कीलाई आईजीपीको जिम्मेवारीबाट हटाएर प्रधानमन्त्रीको प्रमुख सुरक्षा सल्लाहकार बनाएको थियो । सोही दिन एआईजी डा. मनोज केसीलाई नयाँ प्रहरी महानिरीक्षक नियुक्त गरिएको थियो ।

अदालतले अन्तरिम आदेश जारी गरेमा कार्की पुनः आईजीपीको जिम्मेवारीमा फर्कने बाटो खुल्न सक्छ । तर अन्तरिम आदेश जारी नगरेमा अन्तिम फैसला नआएसम्म डा. केसीले नै प्रहरी संगठनको नेतृत्व गर्नेछन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !