काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आन्दोलनका लागि तयार रहन नेता–कार्यकर्तालाई निर्देशन दिएका छन् । आज मंगलबार अखिल नेपाल किसान महासंघ केन्द्रीय कमिटीको विस्तारित बैठकमा उनले जुनसुकै बेला आन्दोलनमा जानुपर्ने अवस्था आउने बताए ।
एमालेका अध्यक्ष ओलीले जुनसुकै समयमा सरकारविरुद्ध आन्दोलनमा उत्रिनुपर्ने अवस्था आउन सक्ने भन्दै मानसिक र साङ्गठनिक रूपमा तयार रहन पार्टीपङ्क्तिलाई निर्देशन दिएका हुन् । अध्यक्ष ओलीले मुलुकको तत्कालीन राजनीतिक अवस्थालाई मध्यनजर गरेर आन्दोलनमा उत्रिनु पार्टीसामु मुख्य कार्यभार रहेको बताएका हुन् ।
उनले आन्दोलन सधैँ लामो तयारीपछि मात्रै नभई परिस्थिति असह्य भएपछि तत्काल सुरु गर्नुपर्ने अवस्था आउन सक्ने उल्लेख गरे । सन् १९१७ को रुसी विद्रोहको उदाहरण दिँदै अध्यक्ष ओलीले निर्वाचन, जनविद्रोह तथा उपद्रवकारी क्रियाकलापको माध्यमबाट सत्ता परिवर्तन हुने गरेको बताए ।
नागरिकमा बेचैनी र निराशा बढ्दै गइरहेको उल्लेख गर्दै अध्यक्ष ओलीले यस्तो अवस्थामा एमाले वैचारिक रूपमा स्पष्ट भएर जनपक्षीय आन्दोलनको बाटोमा जानुपर्नेमा जोड दिए । साथै, केहीले निर्वाचनमार्फत पार्टी निर्माण गर्ने तयारी गरिरहेको टिप्पणी गर्दै उनले एमाले पार्टी बनाउन नभई बलियो पार्टी लिएर निर्वाचनमा होमिनुपर्ने बताए ।














