१ मंसिर २०८३, मंगलबार

आन्तरिक पर्यटकको रोजाइमा रेसुङ्गा पार्क, ४० हजारले गरे अवलोकन


रेसुङ्गा पार्क

गुल्मी । हरियाली जंगल, शान्त वातावरण र मनोरम प्राकृतिक दृश्यले रेसुङ्गा पार्क आन्तरिक पर्यटकको आकर्षक गन्तव्य बन्दै गएको छ । रेसुङ्गाको गर्जुरा क्षेत्रमा पार्क निर्माण भएपछि गुल्मीमा पर्यटकको चहलपहल बढेको हो ।

सदरमुकाम तम्घासदेखि करिब तीन किलोमिटर दूरीमा रहेको पार्कसम्म पुग्ने सडक कालोपत्र भएपछि आवागमन सहज भएको छ । सार्वजनिक बिदाका दिन परिवारसहित घुम्न र वनभोज खान आउने पर्यटकको यहाँ भीड लाग्ने गरेको छ । बालबालिकादेखि ज्येष्ठ नागरिकसम्मका लागि उपयुक्त गन्तव्य बनेको पार्क युवापुस्ताका लागि तस्बिर तथा भिडियो खिच्ने र सामाजिक सञ्जालमा सामग्री राख्ने आकर्षक स्थलसमेत बनेको छ ।

गुल्मी घर भई रोजगारी तथा अध्ययनका सिलसिलामा विदेशमा रहेका नेपाली पनि बिदामा घर फर्किएका बेला पार्क पुग्ने गरेका छन् । रेसुङ्गा नगरपालिका-१, तम्घास घर भई हाल फिनल्यान्डमा बस्दै आएका मिलन खराल पार्क निर्माणपछि पहिलो पटक घुम्न आएको बताउँछन् । सामाजिक सञ्जालमा पार्कका तस्बिर र भिडियो देखेर आकर्षित भएको उल्लेख गर्दै उनले प्रत्यक्ष अवलोकन गर्दा यहाँको संरचना र प्राकृतिक वातावरण निकै राम्रो लागेको बताए ।

त्यसैगरी, मुसिकोट नगरपालिका-५ घर भई हाल लन्डनमा रहेका फणीन्द्र भट्टराईले पनि घर बिदामा आएका बेला पार्क घुम्न पाउँदा खुसी लागेको बताए । पार्कका संरचना र हरियाली वातावरणले आफूलाई आकर्षित गरेको उनको भनाइ छ ।

मुसिकोट नगरपालिका-३ घर भई हाल हङकङमा रहेकी शान्ति केसीले पनि गाउँ फर्किएका बेला पहिलो पटक पार्क घुमेको बताइन् । जन्मथलोमा सुन्दर पर्यटकीय पूर्वाधार निर्माण भएको देख्दा खुसी लागेको उल्लेख गर्दै उनले पार्कमा प्रकृतिसँग रमाउँदै तस्बिर तथा भिडियो खिचेको अनुभव सुनाइन् ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र रेसुङ्गा नगरपालिकाको साझेदारीमा ६ करोडभन्दा बढी लगानीमा पार्क निर्माण गरिएको हो । निर्माण सम्पन्न भएको छोटो समयमै पार्कले पर्यटक आकर्षित गर्न थालेको नगरपालिकाले जनाएको छ । नगरपालिकाका अनुसार हालसम्म ४० हजारभन्दा बढीले पार्कको अवलोकन गरिसकेका छन् । प्रवेश शुल्कबाट करिब १५ लाख राजस्व संकलन भएको छ ।

नगरपालिकाले पार्क प्रवेशका लागि टिकट प्रणाली लागू गरेको छ । सर्वसाधारणका लागि ५०, ज्येष्ठ नागरिक, विद्यार्थी तथा बालबालिकाका लागि २५ र विदेशी नागरिकका लागि १०० शुल्क निर्धारण गरिएको छ । पार्कमा भ्यूटावर, पिङ, वनभोजस्थल, फोटो खिच्ने स्थान, बालबालिकाका लागि खेल क्षेत्र, पोखरी र पुललगायत संरचना निर्माण गरिएका छन् ।

रेसुङ्गा नगरपालिकाका प्रमुख खिलध्वज पन्थीले पार्क निर्माणले जिल्लाको पर्यटन प्रवर्धनमा नयाँ आयाम थपेको बताए । रेसुङ्गा क्षेत्रको धार्मिक, ऐतिहासिक तथा प्राकृतिक महत्व उजागर गरी पर्यटक आकर्षित गर्ने उद्देश्यले पार्क निर्माण गरिएको उनको भनाइ छ । पार्कले पर्यटकीय गतिविधि बढाउनुका साथै स्थानीय अर्थतन्त्र चलायमान बनाउन सहयोग पुर्‍याएको प्रमुख पन्थीले बताए ।

नगरपालिकाले रेसुङ्गा क्षेत्रमा थप पर्यटन पूर्वाधार निर्माणलाई पनि निरन्तरता दिएको छ । पर्यटन प्रवर्धनका लागि एक करोडभन्दा बढी लगानीमा रेसुङ्गाको नुनामारेदेखि पार्कसम्म जिपलाइन र स्काई साइकलिङजस्ता साहसिक तथा मनोरञ्जनात्मक पूर्वाधार निर्माण गरिएको छ । धार्मिक, ऐतिहासिक र प्राकृतिक महत्व बोकेको रेसुङ्गा क्षेत्रमा थपिँदै गएका पूर्वाधारले गुल्मीको पर्यटन विकासमा टेवा पुग्ने अपेक्षा गरिएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !