काठमाडौं । ललितपुरको सातदोबाटोस्थित पौडी पोखरी परिसरमा जेनजी सहिदको सालिक अनावरण कार्यक्रम स्थगित भएको छ ।
पौडी पोखरी परिसरभित्रको जेनजी स्मृति पार्कमा निर्माण गरिएको जेनजी सहिदहरूको सालिक वास्तविक व्यक्तिको अनुहारसँग नमिलेको भन्दै परिवारजनले आपत्ति जनाएपछि सालिक अनावरण कार्यक्रम स्थगित गरिएको हो ।
सालिक अनावरणका लागि गृहमन्त्री सुधन गुरुङ, रास्वपा सांसदहरू, सहिद परिवारलगायत सातदोबाटोस्थित पौडी पोखरी परिसर पुगेका थिए ।
सो क्रममा सहिद परिवारहरूले अनुहारसँग नमिलेको भन्दै आपत्ति जनाएपछि सालिक अनावरण गर्ने कार्यक्रम रोकिएको रास्वपा सांसद जगदीश खरेलले जानकारी दिए ।
निर्माण गरिएको सालिकको अनुहार सम्बन्धित सहिदसँग नमिलेको भन्दै परिवारजन तथा आफन्तहरूको असहमति आएकाले तत्काल हतारमा अनावरण नगर्ने निर्णय गरिएको उनले बताए ।
सालिकको अनुहार मिलाउने र वरिपरिको फिनिसिङका बाँकी कामहरू पूरा गर्न थप समय लिइने भन्दै आगामी माघ १६ (सहिद दिवस) का दिन अनावरण गर्न आफूले प्रस्ताव गरेको खरेलले जानकारी दिए ।









