२४ भदौ २०८३, बुधबार

गत भदौ २४ को विध्वंस रहस्यमय छ, गम्भीर अनुसन्धान गर्नुपर्छ : प्रचण्ड


प्रचण्ड

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले गत वर्ष भदौ २४ गते भएको विध्वंसात्मक घटनाको गम्भीर र बहुआयामिक अनुसन्धान गर्नुपर्ने बताएका छन् ।

भदौ २४ गतेलाई नेपालको इतिहासकै सबैभन्दा रहस्यमय र भयानक विध्वंसको दिनका रूपमा उल्लेख गर्दै उनले विध्वंसात्मक घटनाको गम्भीर र बहुआयामिक अनुसन्धान गर्नुपर्ने बताएका हुन् । प्रचण्डले गत वर्षको जेनजी आन्दोलनका क्रममा भएका दमन, हिंसा, लुटपाट र विध्वंसको निष्पक्ष तथा तथ्यमा आधारित छानबिन गर्न माग गरेका हुन् ।

प्रचण्डले जेनजी आन्दोलन सुरुमा अभिव्यक्ति स्वतन्त्रता, सुशासन, भ्रष्टाचारविरुद्धको खबरदारी र नयाँ पुस्ताको भविष्यप्रतिको चिन्ताबाट उत्पन्न सामाजिक सञ्जाल प्रेरित आन्दोलन भएको बताएका छन्। तर युवाको आवाजलाई संवेदनशील रूपमा सम्बोधन गर्नुको सट्टा राज्यले दमनको बाटो रोजेको उनको आरोप छ। त्यसपछि नियोजित रूपमा परिचालित संदिग्ध तत्वहरूले आन्दोलनलाई ‘अपहरण’ गरेको प्रचण्डको दाबी छ।

उनका अनुसार भदौ २४ गते सिंहदरबार, संसद् भवन, राष्ट्रपति भवन, सर्वोच्च अदालत, राष्ट्रिय अभिलेखालय, सरकारी तथा प्रहरी कार्यालय, राजनीतिक दलका कार्यालयलगायत सार्वजनिक तथा निजी सम्पत्तिमा लुटपाट, आगजनी र विध्वंस भएको थियो।

उनले आन्दोलन उग्र र हिंसात्मक बन्न थालेपछि वास्तविक जेनजी अभियन्ताहरूले नै ‘घुसपैठ भयो’ र ‘घर फर्कौं’ भनेको तथ्य महत्वपूर्ण रहेको उल्लेख गरेका छन् । प्रचण्डले जेनजी आन्दोलनका क्रममा भएका घटनाबारे विभिन्न प्रश्नको उत्तर खोज्नुपर्ने बताएका छन्।

उनले को दोषी थियो, आन्दोलनमाथि दमन किन र कसरी भयो, कसले आन्दोलन भड्कायो, हिंसा तथा विध्वंस कसले मच्चायो र त्यसबाट लाभ कसले उठायो भन्ने प्रश्नको सत्यतथ्य उजागर गर्न माग गरेका छन्।

प्रधानमन्त्रीले राजीनामा दिइसकेपछि पनि लुटपाट, तोडफोड र आगजनी जारी रहनु, संगठित समूह परिचालन भएको देखिनु तथा प्रज्वलनशील पदार्थ प्रयोगलगायतका घटनाले घटनाको पछाडि गम्भीर प्रश्न रहेको उनले बताएका छन्।

गत भदौ २३ गते युवाहरूले उठाएको सुशासन र पारदर्शिताको मागलाई भदौ २४ गतेको घटनाले सम्बोधन नगरेको संयोजक प्रचण्डको दाबी छ । भदौ २४ को घटनाले जेनजी युवाहरूको भावना र आकांक्षामाथि प्रहार गरेको उनले जिकिर गरेका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !