२२ भदौ २०८३, सोमबार

राष्ट्रपति पौडेलद्वारा नुवाकोटका बाढी प्रभावित क्षेत्रको स्थलगत अवलोकन


रामचन्द्र पौडेल

नुवाकोट । राष्ट्रपति रामचन्द्र पौडेलले यही भदौ १० गते रसुवाको भोटेकोशीमा आएको बाढीबाट प्रभावित नुवाकोट जिल्लाका विभिन्न क्षेत्रको सोमबार स्थलगत अवलोकन गरेका छन् । उनले बाढी प्रभावित तथा पीडित नागरिकसँग भेटघाट गरी उनीहरूका गुनासा र समस्यासमेत सुनेका छन् ।

राष्ट्रपति पौडेलले नुवाकोटमा भोटेकोशीमा आएको बाढीबाट परेको प्रभाव तथा त्यसबाट भएको क्षतिबारे जिल्ला सुरक्षा समितिबाट जानकारी लिएका थिए । सो अवसरमा प्रमुख जिल्ला अधिकारी शम्भुप्रसाद रेग्मीसहित सुरक्षा समितिका सदस्यहरूले रसुवामा आएको बाढीका कारण नुवाकोटमा भएको धनजनको क्षतिबारे विवरण प्रस्तुत गरेका थिए ।

प्रमुख जिल्ला अधिकारी रेग्मीले बाढी प्रभावितको खोज तथा उद्धार, राहत वितरण, पुनर्स्थापना र तत्काल आवश्यक संरचना निर्माणका लागि भइरहेका कामबारे पनि राष्ट्रपति पौडेललाई जानकारी गराएका थिए ।

सो क्रममा राष्ट्रपति पौडेलले नुवाकोटमा बाढी प्रभावितलाई राखिएको होल्डिङ सेन्टरको समेत अवलोकन गरेका थिए । त्यहाँ प्रभावित नागरिकहरूले भोटेकोशीमा आएको अप्रत्याशित बाढीबाट भएको धनजनको क्षतिबारे राष्ट्रपतिलाई जानकारी गराउँदै खोज तथा उद्धार, राहत र पुनर्स्थापनाका काममा सरकार, सहयोगदाता तथा सम्बन्धित सरोकारवालाले थप तदारुकता देखाउनुपर्ने बताएका थिए ।

राष्ट्रपति पौडेलले सोमबार नै बाढी प्रभावित क्षेत्रअन्तर्गत नुवाकोटको त्रिशूलीमा रहेको नेपाली सेनाको क्याम्प तथा रसुवाका बाढी प्रभावित क्षेत्रको समेत स्थलगत अवलोकन गरेका थिए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !