काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसभित्र चर्किएको आन्तरिक विवाद समाधान गरी पार्टीलाई एकढिक्का बनाउन सभापति गगन थापाले विशेष राजनीतिक दौडधुप सुरु गरेका छन् । कांग्रेसका सभापति थापाले पूर्वउपसभापति पूर्णबहादुर खड्का र नेता डा. शेखर कोइरालासँग छुट्टाछुट्टै छलफल गरेका छन् ।
पार्टीभित्रको विवाद समाधानको प्रयासका लागि सभापति थापा र निवर्तमान कार्यवाहक सभापति खड्कावीच हिजो शनिवार साँझ भेटवार्ता भएको थियो । सभापति थापाले नेता डा. कोइरालासँग आज छलफल गरेका हुन् ।
कांग्रेसका एक पदाधिकारीका अनुसार सभापति थापाले दुवै जना नेतासँग छुट्टाछुट्टै छलफल गरेका हुन् । आसन्न महाधिवेशन र बाढीपछि राहत, पुर्ननिर्माण लगायतमा छलफल गर्न कांग्रेसको आज कार्यसम्पादन समितिको बैठक बस्दैछ ।
खड्का र कोइरालासँग संवादलाई जारी राख्न वडा तहको अधिवेशनको एक साता सार्ने तयारी गरिएको छ । केन्द्रीय महाधिवेशनको मिति परिवर्तन नगर्ने गरी तल्लो तहका अधिवेशनको मिति सार्न लागिएको छ ।
पूर्वसभापति शेरबहादुर देउवा पक्षले मंसिरमा गर्ने गरी ल्याएको महाधिवेशनको कार्यतालिकाप्रति खड्का र कोइराला सहमत देखिएका छैनन् । देउवा पक्षले महाधिवेशनको कार्यतालिका ल्याउने बैठकमा समेत खड्का र कोइराला उपस्थित भएनन् ।









