काठमाडौँ । सर्वोच्च अदालतले नेकपा (एमाले) का उपाध्यक्ष एवं पूर्वअर्थमन्त्री विष्णुप्रसाद पौडेलको बन्दीप्रत्यक्षीकरणको रिटमा मिसिल झिकाउन आदेश दिएको छ । आज मंगलबार सर्वोच्चका न्यायाधीशद्वय टेकप्रसाद ढुङ्गाना र मेघराज पोखरेलको संयुक्त इजलासले मिसिल झिकाउन आदेश दिएको हो ।
सर्वोच्चले पौडेल जोडिएको विशेष अदालतमा विचाराधीन सुलभ अग्रवाल र दिपक भट्ट प्रतिवादी रहेको सम्पत्ति शुद्धीकरण मुद्दाको सक्कलै मिसिल झिकाउन भनेको हो । पौडेलविरुद्ध सोही अभियोग अन्तर्गत पुरक अभियोग लैजाने गरी अनुसन्धान भइरहेकाले सर्वोच्चले मूल मिसिल माग गरेको हो ।
पौडेलका कानुन व्यवसायीले भने मूल मुद्दामा विष्णु पौडेलका विरुद्धमा कुनै पनि कसुर नदेखिने दाबी गरेका छन् । उनीहरूको दाबीपछि सर्वोच्चले उक्त मिसिल झिकाउँदै बिहीबारका लागि अर्को पेसी तोकेको छ ।
पौडेललाई गैरकानुनी थुनामा राखेको भन्दै उनकी पत्नी दोमाया पौडेलले असार १० गते बन्दीप्रत्यक्षीकरणको रिट दायर गरेकी थिइन् । उनले थुनामुक्त गर्न आदेश माग गरेकी थिइन् । सर्वोच्च यो आदेशसंगै एमाले उपाध्यक्ष पौडेल आज पनि थुनामुक्त नहुने भएका हुन् ।













