नारायणगढ । चितवनको रत्ननगर नगरपालिका-१२ जिरौनाका कृषक ठाकुर सापकोटाले कृषि क्षेत्रमा एउटा नयाँ र उदाहरणीय आयाम थपेका छन्। विगत १५ वर्षदेखि व्यावसायिक केराखेती गर्दै आएका उनले केराको विविधीकरण गर्दै यसबाट मदिराजन्य पेय पदार्थ ‘वाइन’ र ‘ब्रान्डी’ को सफल उत्पादन परीक्षण गरेका हुन्।
उत्पादनमुखी कृषि प्रणालीलाई उद्योगसँग जोड्ने उद्देश्यका साथ उनले विगत एक वर्षदेखि केराका बाइ-प्रोडक्ट (सह-उत्पादन) का लागि अध्ययन तथा प्रयोगात्मक अनुसन्धान सुरु गरेका थिए।
सापकोटाले ‘ए एण्ड बी केरा फार्म’ मार्फत करिब १२ बिघा क्षेत्रफलमा व्यावसायिक रूपमा केराखेती गर्दै आएका छन्। हावाहुरी, बजारको अभाव तथा अन्य प्राविधिक कारणले बोटमै कुहिने र खेर जाने केरालाई कच्चा पदार्थका रूपमा उपयोग गर्ने सोचका साथ उनले यो परीक्षण थालेका हुन्।
कृषि विकास कार्यालय भरतपुरको प्राविधिक उपकरण, सहयोग र प्रोत्साहनमा सञ्चालन गरिएको अनुसन्धानबाट केराको वाइन उत्पादन पूर्ण रूपमा सफल भइसकेको छ भने ब्रान्डी उत्पादनसम्बन्धी अनुसन्धान पनि अन्तिम सफल चरणमा पुगेको छ।
यो प्रविधि पूर्ण रूपमा पाकेको केरामा हुने प्राकृतिक चिनीको फर्मेन्टेसन (मदिराकरण) प्रक्रियामा आधारित छ। हालको परीक्षण अनुसार एक पटकमा ५०० केजी पाकेको केरा प्रशोधन गर्दा करिब २०० लिटर वाइन उत्पादन गर्न सकिन्छ। त्यसैगरी, ३०० केजी केराबाट करिब १२० देखि १३० लिटरसम्म ब्रान्डी तयार हुने गरेको छ।
सापकोटाले यस व्यवसायलाई ठूलो डिस्टिलरीका रूपमा नभई स्थानीय स्तरमै सञ्चालन हुने ‘माइक्रो-डिस्टिलरी’ (लघु मदिरा उद्योग) का रूपमा दर्ता गर्ने प्रक्रिया अगाडि बढाएका छन्।
गण्डकी गाउँपालिका तथा खोटाङका स्थानीय तहहरूले कोदोको घरेलु मदिरालाई ब्रान्डिङ गरेजस्तै चितवनको केरालाई पनि स्थानीय कानुन तथा कार्यविधिमार्फत ब्रान्डिङ गर्नुपर्ने आवश्यकता उनले औँल्याएका छन्।
केराको ब्रान्डिङ गर्न सकिएमा यसले कृषि पर्यटन प्रवर्द्धनमा महत्त्वपूर्ण योगदान पुर्याउने र चितवन आउने आन्तरिक तथा बाह्य पर्यटकका लागि यो एउा उत्कृष्ट स्थानीय कोसेली बन्न सक्ने सापकोटाको विश्वास छ।
हाल परीक्षणका रूपमा करिब एक हजार जनालाई यो पेय पदार्थ चखाइसकिएको र त्यहाँबाट अत्यन्तै सकारात्मक प्रतिक्रिया प्राप्त भएकाले आगामी आर्थिक वर्षदेखि व्यावसायिक उत्पादन र बजार विस्तार गर्ने तयारी भइरहेको छ । हाल परीक्षण चरणमा उनको परिवारका सदस्यसहित उद्योग र बजार व्यवस्थापनमा प्रत्यक्ष रूपमा आठदेखि नौ जना संलग्न छन्।
केराको सदुपयोग र यसका बहुउपयोगी परिकारको प्रवर्द्धन गर्ने उद्देश्यले रत्ननगरको टाँडी बजारस्थित बकुलहर चोकमा छुट्टै आउटलेट समेत सञ्चालनमा ल्याइएको छ । उक्त आउटलेटमा केराको मःमः, चिप्स, पकौडा, छोइला, बनाना चिल्ली तथा अचारलगायतका विभिन्न नौला परिकारहरू उपलब्ध गराइएको छ, जसले स्थानीय उपभोक्ता तथा पर्यटकलाई निकै आकर्षित गरिरहेको छ।
लामो समय केराखेती गर्दा बजारीकरण र प्राकृतिक विपत्तिका कारण बारीमै केरा पाकेर खेर जाने समस्या भोगेपछि यो अवधारणा जन्मिएको बताउँदै सापकोटाले केरालाई विविधीकरण गरी चितवनको छुट्टै पहिचानका रूपमा स्थापित गर्ने र स्थानीय कृषि अर्थतन्त्रलाई बलियो बनाउने लक्ष्य राखेका छन्।













