३१ भदौ २०८३, बुधबार

जापानी इन्सेफ्लाइटिसबाट देशभर २६ जनाको मृत्यु


जापानी इन्सेफ्लाइटिस

काठमाडौँ । गएको डेढ महिना यता जापानिज इन्सेफलाइटिस (जेई) संक्रमण तीव्ररूपमा बढेको पाइएको हो । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय, स्वास्थ्य सेवा विभाग, परिवार कल्याण महाशाखाको विवरण अनुसार असारयता मात्रै जेईका कारण १२१ जना बिरामी भएकामा २६ जनाको मृत्यु भएको हो ।

महाशाखाद्वारा जारी स्थिति प्रतिवेदन अनुसार देशका १६ जिल्लामा २६ जनाको ज्यान गइसकेको छ। मृत्यु हुनेहरूमा सबैभन्दा बढी झापाका ६ जना छन् ।

त्यस्तै, सुनसरी, सप्तरी, पर्सा, कैलाली र अर्घाखाँचीमा २–२ जना तथा मोरङ, इलाम, रौतहट, धनुषा, काभ्रे, दाङ, तनहुँ, नवलपरासी (पश्चिम), कञ्चनपुर र रोल्पामा १–१ जनाको मृत्यु भएको छ । पछिल्लो पटक रोल्पा र तनहुँमा १–१ जना गरी २ जनाको ज्यान गएको हो।

मृत्यु हुनेहरूमा १२ पुरुष र १४ महिला रहेका छन् । विशेषगरी धान खेत र सुँगुर र बङ्गुर फाराम नजिकै बसोबास गर्ने र खोप नलगाएका नागरिकहरू यस रोगको उच्च जोखिममा परेका छन्।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !