काठमाडौँ । प्रधानन्यायाधीश सिफारिसबारे संवैधानिक परिषदले गरेको निर्णयविरूद्ध सर्वोच्च अदालतमा रिट परेको छ। वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी र अधिवक्ता प्रेमराज सिलवालले आज शुक्रबार सर्वोच्चमा रिट दिएका हुन् ।
संवैधानिक परिषदले चौथो वरीयतामा रहेको न्यायाधीश डा. मनोजकुमार शर्मालाई प्रधान न्यायाधीशमा सिफारिस गरेको भन्दै सर्वोच्चमा रिट पेस भएको हो ।यद्यपि रिट दर्ता भइसकेको छैन ।
प्रधानन्यायाधीशमा चौथो नम्बरको न्यायाधीश शर्मालाई सिफारिस गरिनु संविधानको शक्तिपृथकीकरणको सिद्धान्त विपरीत भएको र यसले स्वतन्त्र न्यायपालिका ध्वस्त हुने दाबी सहित निर्णय खारेज गर्न र एक नम्बरमा रहेकी कार्यवाहक प्रधानन्यायाधीश सपना प्रधान मल्ललाई सिफारिस गर्न माग गर्दै सर्वोच्चमा रिट निवेदन दायर गरिएको हो ।
संवैधानिक परिषद्ले बिहीबार कायममुकायम प्रधानन्यायाधीश सपना प्रधान मल्ल, कुमार रेग्मी र हरिप्रसाद फुयाललाई छाडेर चौथो वरियतामा रहेका शर्मालाई प्रधानन्यायाधीश सिफारिस गरेको थियो।
न्याय परिषदको निर्णयमा राष्ट्रिय सभा अध्यक्ष नारायणप्रसाद दाहाल र प्रतिपक्षी दल नेपाली कांग्रेसका संसदीय दल नेता भिष्मराज आङ्देम्बेले नोट अफ डिसेन्ट लेखेका थिए ।













