काठमाडौं। नेपाल बैंक लिमिटेडले आफ्ना ऋणीहरूलाई लक्षित गर्दै ब्याज छुटसहित कर्जा चुक्ता वा नियमित गर्ने योजना सार्वजनिक गरेको छ।
बैंकले विभिन्न समयमा प्रवाह भएका तथा विभिन्न वर्गमा रहेका कर्जाका ग्राहकलाई सहुलियत प्रदान गर्ने उद्देश्यले यो योजना ल्याएको हो।
यस योजनाअन्तर्गत २०७९ चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका तथा अपलेखित कर्जा ग्राहकहरूले विशेष लाभ लिन सक्नेछन्। साँवा रकम १ करोड रूपैयाँसम्म रहेका यस्ता ऋणीहरूले २०८३ साल आषाढ मसान्तभित्र बैंकको शर्तअनुसार कर्जा चुक्ता गरेमा ब्याज छुटको सुविधा पाउनेछन्।
बैंकले लामो समयदेखि कर्जा तिर्न नसकेका यस्ता ग्राहकहरूलाई यस सुवर्ण अवसरको सदुपयोग गर्दै कर्जा राफसाफ गर्न आग्रह गरेको छ।
त्यसैगरी २०८० वैशाख १ गतेपश्चात् निष्क्रिय तथा सक्रिय दुवै वर्गमा रहेका कर्जा ग्राहकहरूका लागि पनि बैंकले अर्को व्यवस्था गरेको छ। यस्ता ऋणीले २०८२ चैत्र मसान्तभित्र आफ्नो बक्यौता साँवा र ब्याज बुझाई कर्जा चुक्ता गरेमा वा कर्जालाई नियमित गरेमा समेत ब्याज छुट प्रदान गरिने बैंकले जनाएको छ।









