काठमाडौं । अपि पावर कम्पनीको सहायक कम्पनी दार्चुला पावरले निर्माण गर्न लागेको २८.३ मेगावाट क्षमताको मध्य चमेलिया जलविद्युत आयोजनाको लागि नेपाल बैंक लिमिटेडको नेतृत्वमा नविल बैंक ऋण लगानी गर्न तयार भएका छन् ।
बुधबार साँझ आयोजना प्रवद्र्धक कम्पनी र ऋण लगानीकर्ताबीच वित्तीय व्यवस्थापनसम्वन्धी सम्झौता भएको हो । उर्जा, जलस्रोत तथा सिंचाईमन्त्री दीपक खड्का पनि सहभागी कार्यक्रममा दार्चुलाबाट प्रतिनिधित्व गर्ने नेपाली काँग्रेसका साँसद दिलेन्द्रप्रसाद बडु पनि सहभागी थिए ।
मध्य चमेलिया बनाउन नेपाल बैंक र नविल बैंकले कुल लागत पाँच अर्ब ६६ करोडको ७५ प्रतिशत ऋण लगानी गर्न सहमत भएका हुन् । दार्चुला पावरमा स्वपुँजीको २५ प्रतिशतमा ५१ प्रतिशत अपि पावर कम्पनीको लगानी हुनेछ भने १९ प्रतिशत अन्य जलविद्युत प्रवर्द्धक र बाँकी सर्वसाधारण एवं स्थानीयको लगानी हुनेछ ।
प्रतिमेगावाट २० करोड रुपियाँ लागत अनुमान गरिएको यो आयोजना आगामी डेढ वर्षभित्र सम्पन्न गर्ने कम्पनीका अध्यक्ष सञ्जीव न्यौपानेले जानकारी दिए । आयोजनाबाट बार्षिक १८५ गिगावाट विद्युत उत्पादन हुने र नौ बर्षमा १३३ करोड आम्दानी हुने अनुमान उनले गरे ।
दार्चुलाको मार्मा गाउँपालिकाको चमेलिया नदीमा निर्माण हुने यस आयोजनाको विद्युत खरिद बिक्री सम्झौता २०८० माघ १ मा नै भइसकेको हो । उत्पादित बिजुली हाल सञ्चालनमा रहेको १३२ केभीको माथिल्लो चमेलियाको सिंगल सर्किट १६ किलोमिटर प्रशारणलाइनलाई डबल सर्किटमा विस्तार गरी बलाँच सर्किटमा जोडिने योजना छ ।
सौर्य उर्जा र कृषि क्षेत्रमा समेत लगानी विस्तार गरेको अपि पावर समूहले मध्य चमेलियाको बिजुली भारतमा बिक्री गर्न आफैले भारतीय सीमासम्म प्रशारणलाइन निर्माणको लागि सहजीकरण गर्न आग्रह गर्दा सरकारी पक्षले आनाकानी गर्दै आएको बताउँदै अपि पावरका अध्यक्ष गुरुप्रसाद मैनालीले सरकारले भारतलाई बिक्री गर्ने भनेको १० हजार मेगावाटमध्ये अपि समूहले एक हजार योगदान गर्ने इच्छा राखेको बताए ।













