१९ कार्तिक २०८३, बिहिबार

जलवायु परिवर्तनको असर न्यूनीकरणमा संस्थागत सहकार्य आवश्यकः मन्त्री पौडेल


खडकराज पौडेल

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडकराज पौडेलले जलवायु परिवर्तनको असर न्यूनीकरणका लागि सरकारी सहयोग र संस्थागत सहकार्य आवश्यक रहेको बताएका छन्।

बेलायतको लण्डनमा वर्ल्ड ट्राभल एण्ड टुरिजम काउन्सिल र संयुक्त राष्ट्रसंघीय पर्यटनद्वारा बुधबार आयोजित २०औं मन्त्रीस्तरीय शिखर सम्मेलनमा मन्त्री पौडेलले जलवायु परिवर्तनले पर्यटन क्षेत्रमा पारेको जोखिम न्यूनीकरण गर्दै लैजानु पर्ने आवश्यकता औंल्याए । उनले दिगो र उत्थानशील पर्यटन विकासका लागि समुदायको सशक्तिकरण आवश्यक भएको बताए।

मन्त्री पौडेलले भोटेकोशी बाढीबाट भएको मानवीय क्षति र पर्यटन पूर्वाधारमा पुगेको क्षतिलाई जलवायु परिवर्तनले पर्यटन क्षेत्रमा निम्त्याउन सक्ने जोखिमको उदाहरणका रूपमा प्रस्तुत गरे ।

जलवायु परिवर्तनका असरले पर्यटकीय गन्तव्य, पूर्वाधार र स्थानीय समुदायको जीविकोपार्जनमा चुनौती थपिरहेको उनको भनाइ थियो । पर्यटनमन्त्री पौडेलले पर्यटन क्षेत्रलाई विपद् तथा जलवायुजन्य जोखिमबाट सुरक्षित राख्न समुदाय, सरकार र सुदृढ संस्थाको सहभागितामा आधारित प्रभावकारी संकट व्यवस्थापन प्रणाली विकास गर्नुपर्नेमा जोड दिए ।

समुदायलाई विपद् व्यवस्थापन र पर्यटन विकासको केन्द्रमा राख्दै सरकारी सहयोग तथा संस्थागत क्षमता अभिवृद्धि गर्न सके मात्रै पर्यटन क्षेत्रलाई दिगो र उत्थानशील बनाउन सकिने उनले उल्लेख गरे ।

‘बदलिँदो विश्व परिवेशमा पर्यटन क्षेत्रको उत्थानशीलता अभिवृद्धि’ विषयमा केन्द्रित सम्मेलनमा विश्वका विभिन्न देशका पर्यटनमन्त्री तथा सार्वजनिक र निजी क्षेत्रका प्रतिनिधिको सहभागिता थियो ।

सम्मेलनमा सहभागी मन्त्री तथा अन्तर्राष्ट्रिय पर्यटन क्षेत्रका प्रतिनिधिले विश्वव्यापी अनिश्चितता र बदलिँदो परिस्थितिका बीच पर्यटन क्षेत्रको जोखिम सामना गर्ने क्षमता अभिवृद्धि, सार्वजनिक–निजी सहकार्य र दिगो पर्यटन विकासका विषयमा अनुभव तथा धारणा आदानप्रदान गरेका थिए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !