१ जेष्ठ २०८३, शुक्रबार

कृषि विकास बैंकलाई दोहोरो उपाधि


कृषि विकास बैंकलाई दोहोरो उपाधि

काठमाडौँ । कृषि विकास बैंक ‘ए’ ले १४ औं कर्मचारी खेलकुद प्रतियोगिताअन्तर्गत फुटसलमा बुधबार दोहोरो उपाधि जितेको छ । कृषिको पुरुष र महिला दुवै टिम च्याम्पियन बन्यो । दुवैको निर्णय पेनाल्टी सुटआउटबाट निस्केको थियो ।

टोखास्थित ग्रान्डी स्पोर्ट्स सेन्टरमा भएको पुरुषको फाइनलमा कृषिले नेपाल नागरिक उड्डयन प्राधिकरण ‘ए’ लाई टाइब्रेकरमा ४–३ गोलले पराजित गर्‍यो । निर्धारित समयको १–१ गोलको बराबरीमा टुंगिएको थियो ।

नेपाल वायु सेवा निगमले काठमाडौं खानेपानी लिमिटेडलाई २–० गोलले हराउदै तेश्रो भयो । शीर्ष तीन स्थान हात पार्नेले क्रमशः ५५ हजार, ३३ हजार र २२ हजार नगद पुरस्कार हात पारे ।

कर्मचारी खेलकुद प्रतिष्ठान नेपाल (इसान) द्वारा आयोजित प्रतियोगिताको महिलाको उपाधि भिडन्तमा कृषिले नेपाल बैंक लिमिटेडलाई पेनाल्टी सुटआउटमा ५–४ ले हरायो । निर्धारित समयको खेल १–१ गोलको बराबरी सकिएको थियो । विजेताले ३० हजार र उपविजेताले २० हजार नगद पुरस्कार पाए ।

फुटसलसंगै १४ औं कर्मचारी खेलकुद सम्पन्न भएको छ । फुटसलसहित ब्याडमिन्टन र टेबलटेनिस गरी ३ खेलको प्रतिस्पर्धा भएको थियो । ब्याडमिन्टनमा ६ स्पर्धा थिए । त्यसमा नेपाल विद्युत प्राधिकरणले स्वर्णमा ‘क्लिन स्विप’ ग¥यो । टेबलटेनिसमा ४ स्पर्धामा खेल भएको थिए । राष्ट्रिय वाणिज्य बैंकले ३ तथा नेपाल नागरिक उड्डयन प्राधिकरणले १ स्वर्ण जिते ।

विजेतालाई युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरी, राष्ट्रिय खेलकुद परिषद् कार्यकारी समितिका सदस्य कमलबहादुर भट्टराई, जनक शिक्षा सामाग्री केन्द्रका प्रबन्ध सञ्चालक यदुनाथ पौडेल, आयोजक इसानका अध्यक्ष रामविनय श्रेष्ठलगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे । जेठ २१ गतेदेखि सुरु भएको प्रतियोगितामा विभिन्न १९ संस्थाका ३ सय २७ प्रतिस्पर्धी सहभागी थिए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !