काठमाडौं । पूर्वमन्त्री एवं नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष रञ्जिता श्रेष्ठ अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बयान दिन बोलाएपछि नक्सालस्थित अख्तियारको कार्यालय गएकी छन् ।
पूर्व भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री समेत रहेकी श्रेष्ठलाई अख्तियारले बयानका लागि झिकाएपछि आज विहान १० बजेदेखि उनीसँग सोधपुछ शुरु भएको अख्तियार स्रोतले बताएको छ ।
कास्कीको भूमि आयोग अध्यक्ष र मालपोत प्रमुख सरुवामा ७८ लाख घुस डिल भएकोमा उनीसमेत संलग्न रहेको देखिएपछि अख्तियारले बयानका लागि बोलाएको हो ।
यही प्रकरणमा राजीनामा दिएका पूर्व संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताको मंगलबार अख्तियारले भ्वाइस टेस्ट गरेको थियो भने बिचौलिया सुजन लामाले पनि बयान र भ्वाइस टेस्ट दिइसकेका छन् ।
मालपोत कास्कीका कार्यालय प्रमुखको थमौती र सरुवाको विषयमा सार्वजनिक भएको घुस अडियोको छानविनका सिलसिलामा अख्तियारले पूर्वमन्त्री श्रेष्ठको पनि संलग्नता भेटेपछि बयानका लागि बोलाएको हो । अख्तियारले श्रेष्ठसँग सार्वजनिक भएको अडियोमा भ्वाइस टेस्ट र अरु आवश्यक सोधपुछ गरेको छ।
निवर्तमान सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताको घुस अडियो रेकर्ड गर्ने व्यक्तिको फोन ट्रयाकिङका क्रममा अख्तियारको अनुसन्धान गर्ने टोलीले केही शंकास्पद कल र म्यासेजहरु फेला पारेको थियो ।













